प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो?

प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो?

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्।

राष्ट्रिय समाचार समिति, राससको प्रतिनिधिमण्डसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले आयोग सदैव निर्वाचनको तयारी अवस्थामा रहने बताए।

“हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तयारीमा रहन्छ नै। निर्वाचनको मिति सरकारले तोक्ने हो, यसरी तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको हो, त्यसमा हामी प्रतिबद्ध छौँ,” उनले भने।

स्थानीय तहको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले संवैधानिक व्यवस्था अनुसार नै सोही समयको आसपासमा निर्वाचन हुने उनले स्पष्ट पार्नुभयो। स्थानीय तहलाई लामो समय जनप्रतिनिधिविहीन राख्न नहुने पक्षमा आयोग रहेको र सोही अनुरूप तयारी भइरहेको उनले बताए।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो भन्ने प्रश्नमा उनले भने, “हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरुप नै निर्वाचन हुने हो । त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।”

असोज २२, २०८३ बिहीबार १४:५९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।