कांग्रेस महाधिवेशनमा तेस्रो पटक सर्यो मतदानको समय
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान कार्य तेस्रो पटक सरेको छ।
आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक तयारी पूरा हुन नसकेपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पनि फेरि सरेको हो।
निर्वाचन समितिले यसअघि आज बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, बिहानको भारी वर्षा र प्राविधिक कारण देखाउँदै पहिलो पटक समय सारेर बिहान १० बजे पुर्याइएको थियो।
१० बजे पनि निर्वाचन सामग्री र बुथ व्यवस्थापन नसकिएपछि निर्वाचन समितिले समय हेरफेर गर्दै दिउँसो १ बजेदेखि मतदान सुरु हुने जानकारी दिएको थियो। तर, दिउँसो १ बजिसक्दा समेत सम्पूर्ण तयारी पूरा हुन नसकेपछि मतदान सुरु हुन सकेन।
मतदानको समय पटक-पटक सर्दा बिहानैदेखि लामबद्ध भएका महाधिवेशन प्रतिनिधिहरू अन्योलमा परेका छन्।
देशभर तथा प्रवासबाट आएका ७ हजार २५५ जना प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि मतदान गर्न काठमाडौँको राष्ट्रिय सभा गृह र खुलामञ्चस्थित मतदान केन्द्र परिसरमा प्रतीक्षा गरिरहेका छन्।
संशोधित विधानअनुसार यस महाधिवेशनबाट २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।
सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि सयौँ नेताहरू चुनावी मैदानमा छन्।
दिउँसो १ बजेसम्म पनि मतदान सुरु हुन नसकेपछि अब मतदान कार्य सम्पन्न हुन र मतगणना सुरु हुन थप समय लाग्ने देखिएको छ।
निर्वाचन समितिले बाँकी तयारी तीव्र गतिमा भइरहेको र केही बेरमै मतदान सुरु गरिने जनाए पनि नयाँ निश्चित समयबारे औपचारिक निर्णय गर्न बाँकी छ।
असोज २२, २०८३ बिहीबार १३:२१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।