धादिङको धुनिवेशीमा सडेगलेको अवस्थामा पुरुषको शव फेला
धादिङ : धादिङको धुनिवेशी नगरपालिका-९ स्थित झाँक्रीवन सामुदायिक वनको खोल्सीमा एक पुरुषको सडेगलेको अवस्थामा शव फेला परेको छ।
उक्त शव गत भदौ १० गते आएको भीषण बाढीका क्रममा बेपत्ता भएका व्यक्तिको हुन सक्ने प्रहरीले जनाएको छ।
असोज २१ गते दिउँसो करिब २:४० बजे स्थानीय झाँक्रीवनको खोल्सामा अन्दाजी ४० देखि ४५ वर्ष उमेरका देखिने पुरुष व्यक्तिको शव घोप्टो परेको र सडिसकेको अवस्थामा फेला परेको हो।
शव भेटिएको जानकारी सोही वडाका वडा सदस्य बिक्रम रानाले प्रहरीलाई गराएका थिए।
घटनाको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीको नेतृत्वमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनास्थल खानीखोलाबाट करिब ११ किलोमिटर पूर्वतर्फ पर्दछ।
प्रहरी टोलीले घटनास्थलको आवश्यक मुचुल्का तयार गरी दिउँसो ४:२५ बजे शवलाई परीक्षण (पोस्टमार्टम) का लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ), महाराजगञ्ज काठमाडौं पठाएको छ।
मृतकको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।
शव निकै सडिसकेको अवस्थामा रहेकाले पहिचानका लागि हुलिया अनुसार आफन्तहरूको खोजी भइरहेको र भदौ १० को बाढीपहिरोमा बेपत्ता भएका नागरिकहरूको परिवारसँग समन्वय गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
असोज २२, २०८३ बिहीबार ११:१९:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।