भोटेकोशीको प्रलयबाट जोगिएका २५ वर्षीय साधक निमा, ‘डाक्टरले खुट्टा काटेर फाल्नुपर्छ भनेका थिए, धन्न बच्यो!’

भोटेकोशीको प्रलयबाट जोगिएका २५ वर्षीय साधक निमा, ‘डाक्टरले खुट्टा काटेर फाल्नुपर्छ भनेका थिए, धन्न बच्यो!’

काठमाडौं : सुन्दरीजलको फेदीमा एउटा रूखको छहारीमुनि बसेर २५ वर्षीय लामा साधक निमा दोर्जे तामाङ आफ्नो मनलाई एकाग्र बनाउने प्रयास गरिरहेका छन्। आफ्ना विगतका अनुभव सुनाइरहँदा उनको स्वरमा एकातिर धैर्य झल्किन्छ भने अर्कातिर मृत्युको मुखबाट बल्लतल्ल बाँचेर फर्किंदाको त्रास।

गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीको प्रलयपछि २८ दिनसम्म अस्पतालको शय्यामा एक्लै छटपटाएका निमाको मन अझै पनि त्यही उर्लँदो बाढीको गर्जन, लेदोको माटो र आफ्नो क्षतविक्षत खुट्टाको असह्य पीडामै अडिए झैँ लाग्छ।

सुन्दरीजल  आउनुभन्दा दुई हप्ताअघि नै अस्पतालले उनलाई डिस्चार्ज गरिदिएको थियो। तर, फर्किएर जाने घर र गाउँ नै नभएपछि उनी महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमै आश्रय लिएर बस्न बाध्य भए।

बाढीले उनको गाउँ, घर मात्र होइन, ध्यान बसिरहेको ठाउँसमेत जाने बाटो छैन। काठमाडौंमा कतै बस्ने ठेगाना नभएपछि उनले अस्पताल प्रशासनसमक्ष आफ्नो विवशता पोखेका थिए।

“बस्ने ठाउँ छैन, गाउँ जान सक्दिनँ। त्यसैले बस्ने ठाउँको टुङ्गो लागेपछि मात्र मलाई डिस्चार्ज गरिदिनुस् भनेँ,” उनले सुनाए, “नत्र म त दुई हप्ताअघि नै डिस्चार्ज भइसकेको थिएँ। यता बस्ने निश्चित भएपछि मात्र म अस्पतालबाट निस्किएको हुँ।”

पछि काठमाडौंकै एक लामा गुरुले रसुवाको आमाछोदिङमो गाउँपालिका-१, हाकुबेँसीका बाढीप्रभावितहरूलाई आफ्नो व्यक्तिगत घरमा अस्थायी रूपमा बस्न दिने खबर उनले पाए। गाउँलेहरू सबै त्यहीँ रहेको थाहा पाएपछि उनको मन केही शान्त भयो। अहिले हाकुबेँसीका ५६ घरपरिवार सुन्दरीजलस्थित तिनै लामा गुरुको घरमा शरण लिएर बसेका छन्।

उनीहरूलाई राज्यले उपलब्ध गराउनुपर्ने सामान्य ‘होल्डिङ सेन्टर’को सुविधासमेत छैन। केही गैरसरकारी संघसंस्था र गोकर्णेश्वर नगरपालिकाले आ-आफ्नो तर्फबाट सामान्य राहत उपलब्ध गराएका छन्। त्योबाहेक उनीहरूको गाँस र बासको सम्पूर्ण आधारभूत प्रबन्ध आश्रय दिने लामा गुरुले व्यक्तिगत रूपमै बेहोरिरहेका छन्।

ध्यानको दोस्रो महिना, भयानक त्यो बिहानी
निमा हिमाली बौद्ध परम्पराअनुसार हरेक वर्ष विभिन्न अवसरमा गुफा तथा एकान्त स्थलमा पुगेर ध्यान बस्ने गर्छन्। यसअघि उनले काठमाडौंको फर्पिङ र रसुवाकै गोसाइँकुण्डका शान्त गुफाहरूमा ध्यान साधना गरिसकेका छन्।

यसपालि भने वर्षातको समयमा आफ्नै गाउँनजिकैको ध्यान केन्द्रमा उनी बसेका थिए। साउन ९ गतेदेखि भोटेकोशी नदीभन्दा निकै माथिको पहाडमा उनीहरू ध्यानमा लीन थिए। भदौ १० गते उनीहरूको ध्यान साधनाको दोस्रो महिना सुरु भएको पहिलो दिन थियो। करिब ५-६ रोपनी क्षेत्रफलमा फैलिएको एउटा विशाल ढुंगामाथि उनीहरूको ध्यान केन्द्र बनाइएको थियो।

“हामी सात जना लामागुरुहरू ध्यानमा थियौँ। रिट्रिटमा बस्दा कसैसँग बोल्न मिल्दैन, कसैलाई भेट्न पनि पाइँदैन,” भदौ १० गतेको त्यो त्रासदीपूर्ण बिहानी सम्झिँदै उनी भन्छन्, “हामी सुरुमा एक महिनाका लागि बसेका थियौँ। केही समस्या आएन भने ६ महिनासम्म बस्ने योजना थियो। सोहीअनुसार पहिलो महिना सफलतापूर्वक पूरा भयो। तर, दोस्रो महिनाको पहिलो दिन नै ज्यान बचाउन हम्मेहम्मे पर्यो।”

भदौ १० गते बिहान ९ बजेर ५ मिनेट जाँदा उनीहरूले एक्कासि नदीको अस्वाभाविक र डरलाग्दो गर्जन सुने। आवाज तीव्र गतिमा बढ्दै गएपछि उनीहरू केन्द्रबाट बाहिर निस्किए। हेर्दाहेर्दै भोटेकोशीले उनीहरू भएकै स्थानसम्म छोप्न लागिसकेको थियो।

नदीको सतहभन्दा करिब २०० मिटर माथि रहेका उनीहरूले बाढीको सतह त्यति माथिसम्म ओर्लिएला भनेर कल्पनासमेत गरेका थिएनन्। ठूला-ठूला पहाडहरू भेलले सोहोरेर लगेको देखेपछि उनीहरू ज्यान जोगाउन माथितिर दौडिन थाले।

तर, बाढीको तीव्र बहावले निमालाई किनारतर्फ धकेलिहाल्यो। बाढीले उनलाई तान्न लाग्दा उनका बुवा र भाइले समातेर माथितिर ताने। उनलाई बचाउने क्रममा बुवा र भाइसमेत घाइते भए।

“हामी खोलाभन्दा निकै माथि थियौँ। करिब आधा घण्टासम्म त्यति ठूलो खोला हाम्रो आँखाअगाडि उर्लिरह्यो। खोला घटेपछि हेर्दा पहिलाको जस्तो केही पनि बाँकी थिएन”, उनले भने।

माथि डाँडामा पुग्दा निमाको शरीरमा पूरा कपडासमेत थिएन। हिलोले लतपतिएका उनका खुट्टामा असह्य दुखाइ थियो। हिँड्नै नसक्ने अवस्था भएपछि हातले भुइँ टेकेर घस्रिएको सम्झिँदा अहिले पनि उनको आङ सिरिङ्ग हुन्छ।

डाँडामै करिब २-३ घण्टा उनीहरू  बसिरहे। टेलिफोन सम्पर्क विच्छेद भएकाले परिवारका अन्य सदस्यको अवस्थाबारे कुनै अत्तोपत्तो थिएन।

‘खुट्टा काटेर फाल्नुपर्छ भनिएको थियो’
बाढीले गाउँ नै सोहोरेको २४ घण्टा बितिसक्दा पनि हाकुबेँसीमा उद्धार टोली पुग्न सकेको थिएन। सञ्चार सम्पर्क पूर्ण रूपमा ठप्प थियो। निमाको खुट्टा सुन्निएर असह्य दुखाइ भएपछि गाउँमै घरेलु उपचार गरियो, तर दुखाइ कम हुनुको साता झन्झन् बल्झिँदै गयो।

भदौ ११ गते बिहान ९ बजे बल्ल गाउँमा उद्धारका लागि हेलिकप्टर पुग्यो। हेलिकप्टरसम्म पुग्न पनि निमालाई निकै सास्ती भयो। त्यहाँबाट उनलाई सुरुमा जिल्ला अस्पताल पुर्याइयो। चारैतिर कोलाहल थियो, के भइरहेको छ भन्ने उनले ठम्याउनै सकेनन्।

“यहाँ हुँदैन, काठमाडौं नै लैजानुपर्छ” भन्ने आवाज मात्र उनको कानमा परिरह्यो। केही समयमै उनलाई काठमाडौंको टिचिङ अस्पताल ल्याइयो। ‘बुवा कहाँ जानुभयो? परिवारका अन्य सदस्यलाई कस्तो छ? मलाई अस्पतालमा कति दिन राखिन्छ? अब के हुन्छ?’ भन्ने सोचले उनी अन्योलमा परे।

त्यत्तिकैमा चिकित्सकहरूको टोली आएर उनको खुट्टा जाँच गर्यो। चिकित्सकहरूले आपसमा भनेको उनले सुने- “खुट्टा काटेर फाल्नुपर्ने हुन सक्छ, कुनै पनि नसा चलेको छैन।” दुखाइ चरम सीमामा थियो।

“खुट्टा निकै सुन्निएको थियो। रगत बगेको भए बरु दुखाइ कम हुन्थ्यो कि! मैले त आफ्नो खुट्टा नै महसुस गर्न सकेको थिइनँ, अहिले पनि खासै महसुस हुँदैन,” आफ्ना खुट्टातिर हेर्दै उनले भने।

अस्पतालमा निरन्तर निगरानीमा राखिएपछि भर्ना भएको २३औं दिनमा बल्ल उनको शल्यक्रिया गरियो। भाग्यवश, उनको खुट्टा काट्नु परेन।

“हड्डी नै अगाडि-पछाडि भएर नसा पुरै ब्लक भएको रहेछ। असाध्यै गाह्रो भएको थियो। धन्न, खुट्टा काट्न परेन! तर, अहिले पनि राम्रोसँग हिँड्न सक्ने भएको छैन,” उनले राहत र पीडा मिसिएको स्वरमा सुनाए।

अस्पतालले उनलाई दुई महिनापछि पुनः फलोअपका लागि बोलाएको छ। अस्पतालबाट केही दिनका लागि औषधि दिइए पनि हाल उनी आफ्नै खर्चमा औषधि किन्न बाध्य छन्। उनीहरू बसिरहेको सुन्दरीजलको अस्थायी आश्रयस्थलमा प्राथमिक उपचारका औषधिसमेत छैनन्।

अस्पतालमा हुँदा नर्सहरूको सहारामा रहेका उनलाई यहाँ शौचालय जानसमेत कष्टकर छ। बुवाआमा गाउँमै रहेकाले उनी यहाँ एक्लै छन्। “काठमाडौंमा अपरेसन गर्ने बेलासम्म मलाई केही थाहा थिएन। म त लासजस्तै भइसकेको थिएँ, होस नै थिएन”, विगत सम्झँदै उनले भने।

अस्पतालमा लामो समय बस्दा उनले आफन्त कसैलाई भेट्न पाएनन्। उनका घाइते बुवालाई पनि उपचारका लागि काठमाडौं नै ल्याइएको भए पनि फरक वार्डमा राखिएकाले भेट हुन सकेन।

बाढीमा ज्यान गुमाएका आफन्तको ‘घेवा’ (अन्तिम संस्कार) का लागि बुवाआमा हाल गाउँमै व्यस्त छन्। केही दिनपछि उनीहरू सुन्दरीजल आउने खबरले मात्र निमालाई थोरै आड भरोसा मिलेको छ।

सुरुङले छियाछिया पारेपछि ‘रेड जोन’मा परेको गाउँ
निमाको सिंगो गाउँ नै यसरी विस्थापित हुनुमा प्राकृतिक विपत्ति मात्र होइन, विकासका नाममा गरिएको अनियन्त्रित दोहन पनि उत्तिकै जिम्मेवार छ।

उनी भन्छन्, “हाम्रो गाउँमुनि जलविद्युत आयोजना (हाइड्रोपावर) का सुरुङै सुरुङ छन्। बाढीपछि बचेका घरका आँगन र खेतहरू सबै चिरा परेका छन्। अहिले सिंगो गाउँ नै ‘रेड जोन’मा परेपछि त्यहाँ बस्न सबै डराएका छन्।”

गाउँ पुग्ने बाटो पूर्ण रूपमा ध्वस्त छ। करिब १५० मिटरको दूरीमा तुइन टाँगिएको छ, जसको भरमा गाउँलेहरू आवतजावत गर्न बाध्य छन्। बाढीको त्रास खेपेकाहरूलाई तुइनबाट नदी तर्नु पर्दा निकै डर लाग्ने गरेको उनी सुनाउँछन्। तुइनबाट २-३ जना मान्छे र सामान वारपार गराउन निकै जोखिम छ।

त्यसैले अहिले सिङ्गो गाउँ नै रित्तो जस्तै भएको छ। कुल २८५ जनसंख्या रहेको हाकुबेँसीका करिब २०० जना अहिले सुन्दरीजलमा विस्थापित भएर आइसकेका छन्।

“अब ठूलो पानी पर्यो भने बचेखुचेको गाउँ पनि सोहोरिएर जाने निश्चित छ,” उनी भन्छन्, “गाउँलेहरू सबै त्रसित छन्। अस्ति भर्खर यहाँमाथिको धाप ड्याम भत्किन लाग्यो र काठमाडौँ नै डुबाउँछ भन्ने हल्ला चल्दा त हामी यहाँबाट पनि भाग्न ठिक्क परेका थियौँ।”

शारीरिक र मानसिक आघात
शल्यक्रियापछि खुट्टाको हड्डी त जोडियो, तर खुट्टाको तल्लो भाग र कुर्कुच्चा छुँदा उनलाई अझै छोएको अनुभव नै हुँदैन। चिकित्सकले भुइँमा खुट्टा नटेक्न र पानीबाट बचाउन भनेका छन्।

खुट्टाको त्यही निरन्तरको दुखाइका कारण उनलाई टाउको दुख्ने र उच्च रक्तचापको समस्या देखिएको छ। शारीरिक चोटसँगै मानसिक आघातले उनलाई झस्काइरहन्छ। कहिलेकाहीँ उनलाई ‘प्यानिक अट्याक’ समेत हुने गरेको छ।

“सुरुसुरुमा त निद्रा नै लागेन। पछि अरूसँग कुरा गर्दा थाहा भयो, यहाँ त एक महिनादेखि नसुत्ने मान्छेहरू पनि रहेछन्! त्यही दुखाइ र त्रासका कारण मलाई अहिले बेलाबेला टाउको दुख्छ, उच्च रक्तचापको समस्या देखियो”, उनी निराश सुनिए।

यति सानो उमेरमै उच्च रक्तचापको बिरामी हुनुपरेकोमा उनी चिन्तित छन्। बेलाबेला मुटुको धड्कन असामान्य रूपमा बढ्ने गर्छ।

आफ्ना पीडा सुनाइरहँदा पनि उनी बाहिरबाट शान्त देखिन्थे। लामा जीवनको अनुशासन, ध्यान र साधनाले नै उनलाई यो मानसिक बज्रपात सहने शक्ति दिएको हो। उनी भन्छन्, “मलाई मनलाई कसरी नियन्त्रण गर्ने भन्ने अलिअलि ज्ञान छ। त्यही भएर ध्यान र साधना गरेर मनलाई शान्त राख्न सकिरहेको छु।”

सुन्दरीजलमा आश्रित यी बाढीपीडितहरूका लागि सरकारले अहिलेसम्म कुनै स्थायी बास वा पुनर्स्थापनाको ठोस योजना अघि सारेको छैन। पीडितहरूले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिरहेका छन्, तर प्रभावकारी राहत जुट्न सकेको छैन। यसले गर्दा बालबालिका, महिला र निमाजस्ता गम्भीर घाइतेहरूको दैनिकी कष्टकर बन्दै गएको छ।

“सरकारले ‘यो ठाउँ बस्नलायक छ, तिमीहरू यहाँ बस’ भनेर हामीलाई केही पनि भनेको छैन। विपत्ति आएको एक महिनाभन्दा बढी भइसक्यो। हामी यसरी जीवनभर अलपत्र परेर कसरी बस्ने?” निमाले राज्यसँग प्रश्न गरे।

एक महिनाको कठोर साधना सकेर ज्ञान, मोक्ष र शान्तिको खोजीमा निस्किएका २५ वर्षीय निमा आज आफ्नै शरीरको पुनर्लाभ र अस्तित्व रक्षाको कठिन लडाइँ लडिरहेका छन्।

असोज २२, २०८३ बिहीबार १०:३६:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।