कांग्रेसको महाधिवेशनमा फेरि सर्यो मतदानको समय
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान प्रक्रिया पुनः सरेको छ।
निर्वाचन कार्यतालिका फेरिएसँगै अब मतदान कार्य आज दिउँसो १ बजेदेखि मात्र सुरु हुने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतदान कार्य दिउँसो १ बजेदेखि सुरु हुने जानकारी दिएका हुन्।
यसअघि समितिले बिहान ७ बजेदेखि नै मतदान सुरु गर्ने कार्यतालिका तय गरेको थियो।
तर, भारी वर्षा र प्राविधिक कारण देखाउँदै बिहान १० बजेका लागि समय सारिएको थियो। तर १० बज्नुअगावै आवश्यक तयारीका लागि भन्दै निर्वाचन समितिले समय थप पर सारेर दिउँसो १ बजे पुर्याएको हो।
काठमाडौंको राष्ट्रिय सभा गृह र खुलामञ्चमा मतदानका लागि आवश्यक बुथहरू निर्माण गरिएका छन्।
नयाँ नेतृत्व चयनका लागि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिहरू यतिबेला मतदानको प्रतीक्षामा छन्। समय सारिएसँगै मतदान साँझ अबेरसम्म चल्ने अनुमान गरिएको छ।
असोज २२, २०८३ बिहीबार ०९:०६:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।