नयाँ दल खोल्ने प्रस्ताव त्यागेर कांग्रेस बदल्न अडिएको हुँ : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको मूल्य-मान्यता कमजोर भएको अवस्थामा नयाँ दल खोल्नुभन्दा इतिहास बोकेको कांग्रेसलाई नै सुधार्ने बाटो रोजेको बताएका छन्।
पार्टीको १५औं महाधिवेशनअन्तर्गत बन्दसत्रको समापन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशनपछि आफूले २० प्रतिशत समय मात्र आन्तरिक पार्टी पंक्तिमा दिने र बाँकी ८० प्रतिशत समय कांग्रेसलाई समाजसँग जोड्ने बहसमा केन्द्रित गर्ने घोषणा गरे।
“पार्टीको भ्यालु ठीक छैन भने त्यसलाई सच्याउन र बदल्न लाग्ने हो। भदौ २३ र २४ पछि नयाँ परिस्थिति बन्यो, मलाई नयाँ पार्टी खोल्ने र अध्यक्ष बन्ने प्रस्ताव पनि आएका थिए,” थापाले भने, “तर म १४ वर्षदेखि झन्डा बोकेको पार्टी सुधार्न यहीँ अडिग भएर बसेको हुँ। हलमा उपस्थित साथीहरूको भावना पनि यही हो।”
‘पार्टीभित्र सबै बराबर, नेतृत्व समय तोकेर लिने जिम्मेवारी मात्र’
कांग्रेसलाई एउटा परिवारको संज्ञा दिँदै सभापति थापाले देशभरका कार्यकर्ताको त्याग, संघर्ष र योगदानलाई नेतृत्वले बुझ्नुपर्ने बताए।
“कांग्रेस एउटा परिवार हो, यहाँ निर्णय गर्ने जिम्मेवारी कसले लिने भन्ने मात्र फरक हो,” उनले थपे, “मेरो र भुइँमा बस्ने कार्यकर्ताको अधिकार एउटै हो। सार्वभौम शक्ति तल्लो तहका कार्यकर्ता र शुभेच्छुकमै छ। नेतृत्व भनेको समय तोकेर लिने जिम्मेवारी मात्र हो।”
युवा पुस्ताको अपेक्षा र बदलिँदो समाज
सूचना प्रविधिको विस्तार र सामाजिक सञ्जालका कारण समाज तीव्र गतिमा बदलिरहेको उल्लेख गर्दै थापाले पुराना दलप्रति जनतामा वितृष्णा बढ्नु स्वाभाविक भएको टिप्पणी गरे।
“अहिले गाउँमा बस्ने नागरिकले समेत महाधिवेशन हेरेर पार्टीबारे धारणा बनाइसकेका छन्। सामाजिक सञ्जालको अल्गोरिदमले समाजको सोचाइ नै बदलिदिएको छ,” उनले भने, “युरोप र जापान बुढ्यौलीतर्फ जाँदा नेपाल अहिले युवाहरूको देश बनेको छ। हाम्रा युवाहरू सोच कुरेर बस्ने अवस्थामा छैनन्। यस्तो बेला ऐतिहासिक पार्टी कांग्रेसलाई जनतामाझ पुनः सान्दर्भिक र विश्वसनीय बनाउने चुनौती हाम्रै काँधमा छ।”
‘पार्टीको रेल अघि बढिसक्यो, अदालत जाने काम बन्द गरौँ’
महाधिवेशन प्रक्रियाप्रति असन्तुष्ट रहँदै अदालत पुगेका र प्रक्रियामा सहभागी नभएका नेताहरूलाई पार्टीमै फर्कन उनले आग्रह गरे। पूर्वसभापति शेरबहादुर देउवासहितका नेताहरूको योगदान र सहयोगको स्मरण गर्दै थापाले आन्तरिक विवादमा अल्झिएर समय खेर नफाल्न सचेत गराए।
“विशेष महाधिवेशन भयो, फरक धारणाहरू आए। म अदालतको फैसला मान्छु, तपाईंहरूले पनि मान्नुपर्छ,” थापाले भने, “अब स-साना कुरामा गनगन गरेर अलमलिने समय छैन। मिलाउनुपर्ने विषय मिलाउँदै जाउँला तर पार्टीको रेल अगाडि बढिसक्यो। अब अदालत जाने काम बन्द गरेर पार्टीको नियमअनुसार अघि बढ्नुहोस्।”
कमजोरीप्रति आत्मसमीक्षा, उम्मेदवारी फिर्ता लिन आग्रह
महाधिवेशन आयोजनाको क्रममा सदस्यता व्यवस्थापन र अदालती आदेश कार्यान्वयनको चापले केही क्षेत्रमा समस्या र कमजोरी देखिएको स्वीकार गर्दै थापाले त्यसलाई सम्बोधन गरिने विश्वास दिलाए।
बन्दसत्रमा निर्वाचनको चटारोले गर्दा सोचेजस्तो गम्भीर नीतिगत छलफल हुन नसकेको स्वीकार्दै उनले आफूले प्रस्तुत गरेको तीन खण्डको राजनीतिक दस्तावेज अध्ययन गरी ८–१० दिनभित्र लिखित सुझाव दिन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरे।
साथै, निर्वाचनमा आकांक्षीहरूको संख्या अत्यधिक देखिएकाले जित्नेभन्दा हार्नेको संख्या धेरै हुने यथार्थ औँल्याउँदै थापाले पार्टी एकताका लागि अझै पनि उम्मेदवारी फिर्ता लिन आह्वान गरे। उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको विद्यमान प्रणालीबारे पनि भविष्यमा पुनर्विचार गर्नुपर्ने धारणा राखे।
असोज २२, २०८३ बिहीबार ०९:०२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।