कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, बागमती बाहेक सबैको खुलामञ्चमै
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ।
काठमाडौंको राष्ट्रिय सभा गृह र खुलामञ्चमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।
यसअघि बिहान ७ बजेदेखि नै मतदान सुरु हुने कार्यतालिका रहे पनि भारी वर्षा र प्राविधिक कारणले समय ३ घण्टा पछाडि सारिएको केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए।
महाधिवेशनमा देशभर र प्रवासबाट आएका ७ हजार २५५ जना प्रतिनिधिले मताधिकार प्रयोग गर्नेछन्। संशोधित विधानअनुसार यस महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुनेछ।
सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली बुधबार साँझ नै सार्वजनिक भइसकेको छ।
प्रदेश र समूहअनुसार छुट्टाछुट्टै मतदान केन्द्र
प्रतिनिधिहरूको सहजताका लागि प्रदेश तथा समूहगत आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ।
राष्ट्रिय सभा गृहलाई मतदान केन्द्र ‘क’ नामाकरण गरिएको छ भने त्यहाँ बागमती प्रदेशका मतदाताले मतदान गर्नेछन्।
त्यसैगरी खुलामञ्चलाई मतदान केन्द्र ‘ख’ भनिएको छ। महाधिवेशनकै लागि बनाइएका हिमाल हलमा गण्डकी प्रदेशका प्रतिनिधिले, तराई-मधेश हलमा मधेश प्रदेश, कोशी प्रदेश तथा तराई-मधेश समूहका प्रतिनिधिले मतदान गर्नेछन्।
यसका अलावा पहाड हलमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश एवं नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थाका प्रतिनिधिले मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ।
मोबाइल निषेध, मतदानलगत्तै मतगणना
मतदान प्रक्रियालाई व्यवस्थित बनाउन मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लैजान पूर्ण रूपमा रोक लगाइएको छ।
प्रतिनिधिहरूको परिचयपत्र र मतदाता नामावली रुजु गरेपछि मात्र मतदान गर्न दिइने निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए।
निर्वाचन समितिले तोकिएको केन्द्रमा समयमै पुगेर मतदान गर्न प्रतिनिधिहरूलाई आग्रह गरेको छ। साँझ ६ बजे मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने र क्रमशः परिणाम सार्वजनिक गरिने कार्यतालिका छ।
असोज २२, २०८३ बिहीबार ०७:३२:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।