सिंहदरबारभित्रै गोली हान्ने धम्की आयो : सांसद खगेन्द्र सुनार
काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरी (म्यादी प्रहरी) को पोसाक खरिदमा भएको अनियमितताका विषयमा प्रश्न उठाउँदा आफूलाई ‘सिंहदरबारभित्रै गोली ठोक्ने’ सम्मको धम्की आएको बताएका छन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनका लागि म्यादी प्रहरीको पोसाक खरिद प्रक्रियामा ठूलो आर्थिक अनियमितता भएको र त्यसमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रत्यक्ष संलग्नता रहेको दाबी सांसद सुनारले गर्दै आएका छन्।
सोही प्रकरणको सत्यतथ्य छानबिन गर्न संसद्ले रास्वपाकै सांसद मनिष झाको संयोजकत्वमा अध्ययन उपसमिति गठन गरिसकेको छ।
यसै पृष्ठभूमिमा सांसद सुनारले सामाजिक सञ्जाल फेसबुकमार्फत लामो स्टाटस लेख्दै भ्रष्टाचारविरुद्ध आवाज उठाएबापत आफूले राज्यशक्तिको दुरुपयोग, निरन्तरको जासुसी, चरित्रहत्या र ज्यान मार्ने धम्की खेप्नुपरेको बताएका हुन्।
‘सिंहदरबारभित्रै गोली हान्ने धम्की आयो’
सांसद सुनारका अनुसार छानबिन उपसमिति गठन भएकै दिन उनलाई तीनवटा फरक-फरक नम्बरबाट एउटै व्यक्तिको आवाजमा फोन आएको थियो।
फोनमा भनिएको थियो, “चिफ सापको विरुद्धमा बोले सिंहदरबारभित्रै गोली ठोक्छु।” त्यसको प्रतिवाद गर्दै आफूले ‘म गोली खान तयार छु तर प्रश्न गर्न छोड्दिनँ’ भनी जवाफ दिएको सुनारले उल्लेख गरेका छन्।
सादा पोसाकका प्रहरीबाट निरन्तर निगरानी र घेराबन्दी
आफूलाई केही दिनदेखि सादा पोसाकका प्रहरीले गाडी र मोटरसाइकलमा निरन्तर पछ्याइरहेको दाबी उनले गरेका छन्।
बालाजु बाइपास चोकमा आफूलाई पछ्याइरहेको गाडी नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त टोली आईजीपी कार्कीको निर्देशनमा डीएसपीको कमान्डमा खटिएको हेडक्वार्टरको टोली भएको खुलेको उनले बताएका छन्।
त्यस्तै, आईजीपी कार्कीले एआईजी डम्मर विश्वकर्मालाई कार्यकक्षमै बोलाएर जातीय नाता जोड्दै आफूलाई यो विषय नउठाउन दबाब दिन लगाएको दाबीसमेत सुनारले गरेका छन्।
सीआईबी र हेडक्वार्टरबाटै ‘फसाउने र चरित्रहत्या गर्ने’ षड्यन्त्र
सांसद सुनारले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी उमा चतुर्वेदीलाई समेत आईजीपीले आफूविरुद्ध परिचालन गरेको गम्भीर आरोप लगाएका छन्।
उपसमितिको दुई महिने म्याद सकिनुअघि नै सुनारलाई ‘फकाउने, फसाउने, धम्काउने वा मिलाउने’ जिम्मा सीआईबी प्रमुखलाई दिइएको उनको भनाइ छ।
आफ्ना निकटस्थहरूलाई बोलाएर आफूविरुद्ध उजुरी हाल्न दबाब दिने र प्रलोभन देखाउने गरिएको अडियो/भिडियो प्रमाण आफूसँग सुरक्षित रहेको दाबी पनि उनले गरेका छन्।
त्यसैगरी, प्रहरी मुख्यालयभित्रै २०-२५ जनाको प्राविधिक टोली राखेर करिब ३०० वटा फेक फेसबुक आईडीमार्फत आफ्नो चरित्रहत्या गर्न ‘साइबर सेना’ परिचालन गरिएको आरोपसमेत उनले लगाएका छन्।
पोसाक प्रकरणका मुख्य आरोपित भनिएका डीआईजी विश्व अधिकारीको लगानी रहेका केही मिडिया र फेक आइडी प्रयोग गरेर मिडिया ट्रायल चलाइएको उनको जिकिर छ।
संगठनभित्र दलित कर्मचारीमाथि विभेद र निगरानी
सुरक्षा निकायभित्र दलित कर्मचारीहरूले सांसद सुनारलाई सूचना दिन सक्ने आशंकामा उनीहरूमाथि कडा निगरानी राखिएको दाबी पनि उनले गरेका छन्।
श्रीमतीले सांसद सुनारको भिडियो सेयर गरेकै निहीत कारण तराई मूलका एक दलित हवल्दारलाई एक महिनाभित्र पाँच ठाउँमा सरुवा गरिएको उदाहरण दिँदै उनले प्रहरी प्रशासनभित्र चरम ज्यादती भइरहेको बताएका छन्।
‘जिन्दगी दाउमा राख्न तयार छु, पछि हट्दिनँ’
आफूमाथि संसदीय समितिमा समेत बेनामे उजुरी हाल्न लगाएर बदनाम गर्ने प्रयास भइरहेको भन्दै सांसद सुनारले कुनै पनि धम्की वा षड्यन्त्रबाट आफू नडराउने प्रष्ट पारेका छन्।
“हामी जनताका प्रतिनिधि हौं, सुशासनको पक्षमा लाग्छौँ भनेर जनताले मत दिएका हुन्। ममाथिका प्रत्येक प्रश्नको छानबिन होस्, म तयार छु,” उनले भनेका छन्, “ढुक्क हुनुस्, तपाईंको जनप्रतिनिधिको बोलेको मुद्दा आउला तर मकै पोलेको समेत मुद्दा आउँदैन। सुशासनको पक्षमा पद त के जिन्दगी दाउमा राख्न तयार छु, प्रश्न अझै गम्भीर हुन्छ।”
असोज २२, २०८३ बिहीबार ०७:१९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।