‘तीनकुने घटना हिंसात्मक बन्नुको प्रमुख कारण दुर्गा प्रसाईँको गतिविधि’

‘तीनकुने घटना हिंसात्मक बन्नुको प्रमुख कारण दुर्गा प्रसाईँको गतिविधि’

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्नुमा प्रमुख कारक दुर्गा प्रसाईँको उत्तेजक गतिविधि रहेको निष्कर्ष निकालेको छ। बुधवार सार्वजनिक प्रतिवेदनमा शान्तिपूर्ण कार्यक्रम गर्ने भनेर उत्तेजना फैलाइएको उल्लेख छ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालले २०८१ चैत्र १५ गते तीनकुनेको खाली चौरमा नागरिक सभा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लिखित अनुमति मागेको थियो। तर सोही दिन समाजवादी मोर्चाले पनि कार्यक्रम तय गरेको र दुवै पक्षले कार्यक्रम शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएका थिए। 

कार्यक्रम प्रारम्भमा शान्तिपूर्ण भनिए तापनि आयोजक तथा कमान्डर भनिएका दुर्गा प्रसाईँ र अन्य नेतृत्वकर्ताहरू मञ्चमा केन्द्रित नरही प्रहरीको घेरा तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न उत्तेजित र भड्काऊ अभिव्यक्ति ("आओ आओ, संसद् भवन जलाउनु पर्छ" भन्ने जस्ता) दिएका कारण भीड उग्र बनेको आयोगको प्रतिवेदनमा उल्लेख छ।

आयोजकहरूले शान्तिपूर्ण सभा सञ्चालन गर्नुपर्नेमा उल्टै कार्यकर्ताहरूलाई भड्काउने, सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने, आगजनी, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा मुख्य भूमिका खेलेको अनुगमनबाट खुलेको प्रतिवेदनमा उल्लेख छ।

आयोगको अनुगमन टोलीमाथि नै साङ्घातिक आक्रमण, दुर्व्यवहार तथा धम्की दिने काम भएको र पत्रकार तथा सञ्चार गृहमाथिको आक्रमणमा आन्दोलनरत पक्षको प्रत्यक्ष संलग्नता रहेको उल्लेख छ। 

प्रतिवेदनमा दुर्गा प्रसाईँ लगायत प्रदर्शनको नेतृत्व गरेका नेता तथा कार्यकर्ताहरूको अभिव्यक्ति र सामाजिक सञ्जालको भूमिकाले प्रदर्शन भड्काउन र मानवीय तथा भौतिक क्षति पुर्याउन कति भूमिका खेलेको छ भन्नेबारे सूक्ष्म अनुसन्धान गरी स्वच्छ सुनुवाइको सुनिश्चितता सहित कानुनबमोजिम आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ। 

सो प्रदर्शनपछि प्रसाईँ भागेर भारत पुगेका थिए। उनलाई प्रहरीको विशेष टिमले भारतमा खोजी गरेर पक्राउ गरी नेपाल ल्याएको थियो।

विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा अर्काको सम्मान, प्रतिष्ठा र अधिकारको ख्याल गर्नुपर्ने तथा विरोध प्रदर्शन वा सभा सम्मेलन गर्दा आम नागरिकको आधारभूत अधिकारमा आघात नपुग्ने गरी संयमित हुन आयोजकहरूको ध्यानाकर्षण गराइएको छ। 

कुनै पनि व्यक्तिको निजी आवास, व्यावसायिक प्रतिष्ठान वा फर्ममा प्रवेश गर्ने कार्यले गोपनीयता र सम्पत्तिको अधिकार उल्लंघन हुने भएकाले आगामी दिनमा यस्ता कार्यमा संलग्न नहुन/नगराउन प्रतिवेदनमा सचेत गराइएको छ। 

भविष्यमा सञ्चारकर्मी र समाचार सङ्कलनलाई बाधा नपुर्याउन, मानव अधिकार आयोगको स्वतन्त्र अनुगमनमा अवरोध सिर्जना नगर्न तथा पत्रकारको क्षति भएका सामानहरूको क्षति मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित पक्षलाई जवाफदेही बनाउन भनिएको छ। 

असोज २१, २०८३ बुधबार २२:४५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।