पूर्वप्रधानन्यायाधीश राणादेखि पूर्वन्यायाधीश थपलियासम्मको घरमा सम्पत्ति शुद्धीकरणको छापा

पूर्वप्रधानन्यायाधीश राणादेखि पूर्वन्यायाधीश थपलियासम्मको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं : सुरक्षा संगठनमा रहेका नातेदारमार्फत प्रधानमन्त्री वालेन्द्र शाह लगायतको मुभमेन्ट सम्बन्धी गोप्य सूचना लिएको र अदालतमा विचाराधीन मुद्दामा चलखेल गरेको आरोपमा सरकारको निगरानीमा रहेका पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मार्यो।

बुधवार दिनभर प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागले पूर्वप्रधानन्यायाधीश राणासहित उनका परिवारका सदस्य, निकट सम्बन्ध रहेका न्यायाधीशदेखि व्यापारीसम्म र सहयोगीको घरमा समेत छापा मारेको हो।

विभागले जबराको बाँसबारीमा रहेको घरमा छापा मारेर महत्वपूर्ण कागजपत्र नियन्त्रणमा लिएको खुलेको छ। यसैगरि विभागले बुधवारै दूरसञ्चार व्यवसायी दीपक तिमल्सिना, नारायण दाहाल, पूर्वन्यायाधीश नवराज थपलिया, जबराका भाइ प्रभु शमशेर र नातेदार नवीन बस्नेतको घरमासमेत छापा मारेको छ।

दीपक भट्टको मुद्दामा चलखेल गरेको सूचनाको आधारमा प्रहरीले असोज १० गते राति राणालाई नियन्त्रणमा लिएर १३ घण्टापछि नियन्त्रण मुक्त गरेको थियो। पक्राउ पुर्जीसमेत नदिई पूर्वप्रधानन्यायधीशलाई नियन्त्रणमा लिएको भन्दै सरकारको आलोचना भएको थियो।

अनुसन्धानमा राणासँग सम्बन्ध देखिएका इनाम सापकोटालाई नियन्त्रणमा लिएर छानबिन गर्दा सशस्त्र प्रहरीका एआइजी वंशी दाहालले राणाका लागि प्रधानमन्त्रीको सुरक्षा सम्बन्धी महत्वपूर्ण सूचना दिएको खुलेपछि उनी निलम्बनमा परे।

सापकोटा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनीबाट अदालतमा विचाराधीन मुद्दामा चलखेल गर्ने समूह नै देखिएपछि सम्पत्तिको स्रोत खोज्न प्रधानमन्त्री शाहले विभागलाई सक्रिय गराएका हुन्।

असोज २१, २०८३ बुधबार २०:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।