आइसीयु अन्तर्वार्तामा सेना र मेडिकल काउन्सिलले प्रेस काउन्सिललाई जवाफ दिएनन्
काठमाडौं : बाढी आएको १० दिनपछि टनेलभित्रबाट सकुशल उद्धार गरिएका कवीर महर्जन र सञ्जय साहको आइसियुमा २ घण्टा बढी अन्तर्वार्ता लिएको घटनामा नेपाली सेना र मेडिकल काउन्सिलले प्रेस काउन्सिल नेपालको पत्रको बेवास्ता गरेको छ।
सुरज सिंह ठकुरीले नेपाली सेनाको अस्पतालमा उपचाररत रहेका महर्जन र साहको अन्तर्वार्ता लिएको घटना मेडिकल प्रोटोकल र पत्रकारिता संहिता विपरीत देखिएपछि प्रेस काउन्सिल नेपालले नेपाली सेनाको छाउनीमा रहेको अस्पतालमा कसको अनुमतिमा अन्तर्वार्ता लिन स्वीकृति दिइएको हो, सो काम मेडिकल प्रोटोकलभित्र हो हैन लगायतका प्रश्नसहित पत्र पठाएको थियो।
भदौ २८ मा ठकुरीले आफ्नो युट्युब च्यानलमा इनसाइड आइसियु शीर्षक राखेर दुवैको अन्तर्वार्ता प्रसारण गरेका थिए। यसबारे उकेराले समाचार प्रकाशित गरेपछि काउन्सिलले सो घटनाबारे ध्यानाकर्षण भएको बताउँदै सैनिक अस्पताल, सुरज र मेडिकल काउन्सिलमा पत्र पठाएको थियो। काउन्सिलको पत्र गएपछि ठकुरीले युट्युबमा राखेको थमनेल र शीर्षक बदलेका थिए।
ठकुरीले आफू पत्रकार नभएको र आफ्नो अन्तर्वार्ता संहिता भित्र पर्छ या पर्दैन भनेर हेर्ने प्रेस काउन्सिलसँग क्षेत्राधिकार नभएको दाबी सहित जवाफ पठाएका थिए।
प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठका अनुसार ठकुरीको जवाफ चित्तबुझ्दो नदेखिएपछि पुन दोस्रो पत्र पठाइएको छ। ठकुरीले जवाफमा आफू पत्रकार नभई सञ्चारकर्मी भएकाले काउन्सिलको क्षेत्राधिकार भित्र नपर्ने, आफूले अनुमति लिएको विषय अन्तर्वार्ताको प्रारम्भमा नै खुलाएको र नेपाली सेनाले पुर्याएको योगदान र संकटकोबेलामा चिकित्सकहरूले गरेको सेवा देखाउने उद्देश्यले अन्तर्वार्ता लिएको दाबी गरेका थिए।
ठकुरीबाट जवाफ आए पनि सैनिक अस्पताल र मेडिकल काउन्सिलले भने जवाफ पठाएका छैनन्। अन्तर्वार्ता लिने स्वीकृति दिन अपनाइएको प्रक्रिया र आइसियुको मेडिकल प्रोटोकलबारे सैनिक अस्पताल र मेडिकल काउन्सिलमा पठाएको पत्रको जवाफ नआएको श्रेष्ठले उकेरालाई जानकारी दिए।
“ठकुरीबाट जवाफ आएको छ। तर जवाफ चित्त नबुझेपछि काउन्सिलले दोस्रो पत्र पठाएको छ,” अध्यक्ष श्रेष्ठले भने “सैनिक अस्पताल र मेडिकल काउन्सिलबाट जवाफ आएको छैन। दुबैलाई पुन ताकेता गर्दै पत्र पठाइएको छ।”
प्रेस काउन्सिलको पत्रको जवाफ नदिएकोबारे उकेराले नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतसँग सोधेको थियो। उनले “यो विषयमा मलाई जानकारी भएन” भने।
बस्नेतले घाइतेको आफन्तसँग सम्पर्क गरेर र सम्बन्धित बिरामीलाई जानकारी गराएर नै कुराकानी गरेको जानकारी प्राप्त भएको दाबी गरे।
“उहाँहरूले डिस्चार्ज हुनु पूर्व अनुभव सेयर गर्नका लागि सम्बन्धितसँग कुरा गरेको देखिएको छ”,उनले भने।
सेनाको निकाय तथा अस्पतालबाट अनुमति लिएर अन्तर्वार्ता लिइएको हो की सिधै बिरामी भएको ठाउँमा पुगेर लिइएको हो? भन्ने जिज्ञासामा सेनाका प्रवक्ता बस्नेतले भने, “सम्बन्धित डाक्टरसँग छलफल गरेर खबर लिएको भन्ने बुझिएको छ। (अस्पतालबाट) अनुमति भन्ने त हुँदैन हाम्रोमा, समन्वय गरेको देखिएको छ।”
बस्नेतले घाइते र घाइतेको परिवारसँग अनुमति लिएको दाबी गरे पनि उकेरासँगको कुराकानीमा दुवै घाइते र उनका परिवारले यस्तो कुनै अनुमति नलिएको र सिधै आइसीयुमा आएर अन्तर्वार्ता लिएको खुलाए। बस्नेतले सेनाले अनुमति नदिएको दाबी गरे पनि ठकुरीले दुवै घाइतेको अन्तर्वार्ताका लिन सैनिक जनसम्पर्क निर्देशनालयले समन्वयका लागि लिखित पत्र नै बोकेर गएका थिए।
घाइते भन्छन्-आइसीयुमा नै अन्तर्वार्ता लिइएको हो
अन्तर्वार्ताको विषयमा उकेराले सेनाको अस्पतालबाट डिस्चार्ज भएका कवीर महर्जन र सञ्जय साह दुवैसँग मंगलबार सम्पर्क गर्दा उनीहरू दुवैले आइसीयुमा नै अन्तर्वार्ता लिएको बताए।
साहका अनुसार उनी डिस्चार्ज भएकै दिन ठकुरी भदौ २८ गते बिहान साढे आठ बजेतिर अन्तर्वार्ताका लागि आइसीयुमा छिरेका थिए। आफू त्यही दिन बेलुका साढे चार बजेतिर अस्पतालबाट डिस्चार्ज भएको उनले जानकारी दिए।
कवीर महर्जनले पनि आइसीयुमा बिहानै ठकुरीले अन्तर्वार्ता लिएको भए पनि कति बजे र कहिले लिइयो भन्ने याद नभएको बताए।
सुरजसिंह ठकुरीले अन्तर्वार्ता लिँदा तपाईँ कहाँ हुनुहुन्थ्यो? भन्ने जिज्ञासामा साहले भने, “उहाँ (सुरजसिंह) त भित्रै आइसक्नु भएको थियो। कसरी आउनु भयो? उहाँ आइसीयुमा नै आइसक्नु भएको थियो। चार जना आउनु भएको थियो। २-३ जना क्यामरापर्सन् (हुनहुन्थ्यो)।”
ठकुरीको टिममा चिकित्सक आएका थिए की थिएनन् भन्ने विषय भने साहलाई ख्याल भएन।
अन्तर्वार्ता लिनुअघि अन्तर्वार्ता लिनेबारे आफूलाई थाहा नभएको र अन्तर्वार्ता लिने बेलामा मात्रै नर्सहरूले मौखिक जानकारी गराएको साहले बताए।
“हामीलाई अगाडि त्यस्तो केही थाहा भएन”साहले भने, “(अन्तर्वार्ता लिने बेलामा) आएपछि एक जना इन्टरभ्यु लिन आउँदै हुनुहुन्छ भनेर नर्सहरूबाट थाहा पाएँ।”
ठकुरीले आइसियु भित्र छिरेर सामान्य हालखबर सोधेर सिधै क्यामेरा फिट गराएर अन्तर्वार्ता लिन थालेको दुवै घाइतेले खुलाए।
“खानासाना खानुभयो? नर्मल नै हुनुहुन्छ? एकछिन हामीसँग कुरा गर्न सक्नुहुन्छ? भनेर सोध्नु भयो,”साहले भने, “नास्ताको टाइम थियो। अलिअलि चिया नास्ता गरेँ। अनि हो ठिकै छ भनेर कुरा गरेँ।”
कबिर र आफू एउटै आइसीयुमा भएको र आइसीयुमा नै ठकुरीले अन्तर्वार्ता लिएको साहले बताए।
“(कवीर र म)एउटै आइसीयु नजिकै थियौँ। एउटै आइसीयु हो। बेडचाहिँ अलगअलग हो” साहले भने।
ठकुरीले आइसीयुमा नै अन्तर्वार्ता लिएको हो र? भन्ने उकेराकर्मीले पुनः जिज्ञासा राख्दा सञ्जयले भने, “हो, आइसीयु नै हो।”
आइसीयुमा छिर्न दिने विषयमा अस्पतालले नै बिचार गर्नुपर्ने साहको धारणा छ। “त्यो त अस्पतालले पनि (बिचार) गर्नुपर्ने थियो”,उनले भने, “खै अस्पतालले कहाँबाट के गर्यो, परमिसन के कसो हो।”
पछि आफूले आइसीयुमा लिएको अन्तर्वार्ताबारे ‘आइसीयुमा जानु हुँदैन’ भन्ने विषयमा सामाजिक सञ्जालमा आलोचना भएको देखेको र यस विषयमा सबैभन्दा ठूलो प्रश्न अस्पताल प्रशासन माथि नै उठ्ने उनले बताए।
“उहाँले लिइसक्नुभयो, लिइसकेकोलाई के भनौँ” साहले भने, “सबै भन्दा ठूलो प्रश्न त अस्पताल प्रशासनमाथि उठ्ने हो नि त। उहाँहरूलाई आउनै दिन नहुने। त्यो पनि आर्मी हस्पिटल। ल हेर्नु त। आइरहेको मान्छेलाई हामीले रोक्न मिलेन। झन् बिरामी।”
महर्जनले पनि आइसीयुमा नै अन्तर्वार्ता लिएको बताए। त्यो दिन बिहान पोसाक लगाएका एक जना आर्मीले अन्तर्वार्ताका लागि ‘तयारी रहनु’ भनेर खबर गरेको कवीरले बताए।
“आर्मीको ठुलै कर्णेलसापहरूले नै भन्नु भएको थियो,”महर्जनले भने, “डाक्टरहरूसँग हाम्रो अवस्था बुझेर, नर्सहरूले खाजानास्ता खुवाएर नै (अन्तर्वार्ता) गरेको हो।”
साहले परिवारसँग अन्तर्वार्ताका लागि अनुमति लिएकोबारे आफूलाई थाहा नभएको बताए। महर्जनले पनि परिवारसँग अनुमति लिएकोबारे थाहा नभएको बताए।
“परिवारमा श्रीमती मात्रै थियो। उसलाई चाहिँ इन्टरभ्यु लिन आउँदैछन् भनेर थाहा भइसकेको थियो। त्यो त थाहा दिएकै होला नि” उनले भने।
काउन्सिलको पत्रको जवाफ नदिएकोबारे मेडिकल काउन्सिलमा बुझ्दा एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा प्रेस काउन्सिलबाट पत्र आएपछि सेनाको अस्पतालमा पत्र पठाएको तर उताबाट कुनै जवाफ नआएकाले पुन ताकेता गर्दै दोस्रो पत्र पठाए पनि जवाफ नआएको खुलाए। ती अधिकारीले सेनाबाट जवाफ नआएकाले नै प्रेस काउन्सिललाई पत्र पठाउन नसकिएको बताए।
बिबिसीले अनुमतिको प्रमाणसहित पठायो जवाफ
कवीर र साहको अस्पतालको आइसियुमा अन्तर्वार्ता लिएको घटना सार्वजनिक भएसँगै सगरमाथामा घाइते भएर उद्धार गरिएका दावा शेर्पाको बिबिसी नेपाली सेवाले पनि आइसियुभित्रै अन्तर्वार्ता लिएको खुल्यो।
त्यसपछि काउन्सिलले सो घटनाबारे समेत कुन प्रक्रियाबाट र कोसँगको अनुमतिमा अन्तर्वार्ता लिएको भनेर बिबिसी र ह्याम्स अस्पताललाई पत्र पठाएको थियो। दुवैले जवाफ दिइसकेको प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार अस्पतालले प्रयोजन खुलाएर र बिबिसीले अनुमति लिएको अडियो प्रमाणसहित जवाफ दिएको छ।
ह्याम्स अस्पतालले बिरामी पूर्ण होसमा रहेको, स्वास्थ्य अवस्था स्थिर रहेकाले सामान्य वार्डमा सार्ने तयारी भइरहेको अवस्थामा बिरामी र परिवारको अनुरोधमा उपचाररत चिकित्सकीय टोलीको रायसहित सीमित अनुमति दिइएको जवाफ दिएको श्रेष्ठले बताए।
बिबिसी नेपालीले पनि परिवारमार्फत बिरामीको सहमति लिएर अनि अस्पतालको अनुमति र स्वास्थ्यकर्मीको समन्वयमा अन्तर्वार्ता लिएको जवाफ पठाएको उनले बताए।
ह्याम्स र बिबिसी नेपाली सेवाबाट जवाफ आएपछि अन्तर्वार्ताको प्रक्रिया, यसमा पालना गर्नुपर्ने विधि, चिकित्सकको संहिता र प्रोटोकलबारे पून मेडिकल काउन्सिललाई पत्र पठाएको श्रेष्ठले बताए।
असोज २१, २०८३ बुधबार २०:२३:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।