तामझामपूर्ण प्रचार नगर्ने भनिएको कांग्रेसको महाधिवेशन कस्तो देखियो ? ‘तस्बिरमा हेर्नुहोस्’
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता भएसँगै उम्मेदवार तथा उनका समर्थकहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन्। आफ्नो पक्षमा मत माग्ने क्रम बढेसँगै महाधिवेशनस्थलका भित्ताहरू विभिन्न उम्मेदवारका पर्चा तथा प्रचार सामग्रीले रंगिएका छन्।
यसअघि कांग्रेसले महाधिवेशनमा भड्किलो र तामझामपूर्ण प्रचारप्रसारमा रोक लगाउँदै ‘वातावरणमैत्री’ नीति अपनाउने बताएको थियो। पार्टीले शहरी क्षेत्रमा पर्चा-पम्प्लेट नटाँस्न आग्रह गर्दै उम्मेदवारहरूलाई प्रचारमा डिजिटल प्रविधिको प्रयोग गर्न आह्वान गरेको थियो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले प्रचारप्रसारका लागि कुनै पनि पर्चा नछाप्न उम्मेदवारहरूलाई आग्रह गरेका थिए। तर, मनोनयन दर्ता भएको भोलिपल्टदेखि नै महाधिवेशनस्थलको दृश्य भने बिल्कुल फरक देखियो।

महाधिवेशनस्थल वरपरका भित्ताहरू उम्मेदवारका पर्चा, ब्यानर र प्रचार सामग्रीले ढाकिएका छन्। हात-हातमा प्रचार सामग्री बोकेका नेता तथा कार्यकर्ताहरू प्रतिनिधिहरूसँग भोट माग्न, भेटघाट गर्न र छलफलमा व्यस्त छन्।

यद्यपि, प्रचारशैलीमा केही नयाँ र फरक अभ्यास पनि देखिए। महाधिवेशनस्थलमा कुनै उम्मेदवारले रोबोटको सहायता लिएर प्रचार गरिरहेका छन् भने कसैले मुकुन्डो तथा चिम्पाञ्जीको मस्कट प्रयोग गरेर मत मागिरहेको देखियो। प्रचारमा प्रयोग भएका यी पृथक् अभ्यासले महाधिवेशन प्रतिनिधिहरूको ध्यान खिचिरहेको छ।







असोज २१, २०८३ बुधबार १८:०६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।