कांग्रेस सभापतिका उम्मेदवार राठौरले फिर्ता लिए उम्मेदवारी

कांग्रेस सभापतिका उम्मेदवार राठौरले फिर्ता लिए उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले सभापतिमा गगन थापालाई समर्थन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

पार्टी संकटमा रहेका बेला मिलेर अघि बढ्नुपर्ने भनेर सभापति थापाले राखेको प्रस्तावलाई समर्थन गरेर आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको राठौरले बताए। पार्टीभित्र एकताको आवश्यकता औँल्याउँदै उनले आगामी दिनमा कांग्रेसलाई एकताबद्ध बनाएर लैजान आफू सक्रिय रहने बताए।

उनले भने, "विशेष परिस्थितिमा महाधिवेशन हुन लागेको, पार्टी संकटमा रहेको अवस्थामा सभापतिले सहयोग गर्नु पर्यो भनेका कारण पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता गरेको छु।"

यसअघि कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले कुनै नेता निर्विरोध निर्वाचित हुनेगरि चुनावमा जान नहुने धारणा राख्दै आएका उनले सभापति गगन थापाको जतिसुकै लोकप्रियता भए पनि चुनाव लड्ने बताएका थिए। बर्दियाबाट महाधिवेशन प्रतिनिधि रहेका राठौर १४औँ महाधिवेशनमा पार्टीको सहमहामन्त्री निर्वाचित भएका थिए। 

यसअघि १५औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि थापा र राठौरसहित काठमाडौं क्षेत्र नम्बर ६ का महाधिवेशन प्रतिनिधि श्यामकृष्ण खड्कीको उम्मेदवारी परेको थियो। राठौरको उम्मेदवारी फिर्तापछि सभापति पदमा अब थापा र खड्कीबीच प्रतिस्पर्धा हुने छ। 

असोज २१, २०८३ बुधबार १५:२९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।