कोरिया नपठाएर अलपत्र पारेको भन्दै टिकटकमा गुहार, न्यू सफल कन्सल्टेन्सीका सञ्चालक पक्राउ
काठमाडौं : कोरिया पठाइदिने भनेर अलपत्र पारेको आरोपमा ‘न्यू सफल ग्लोबल कन्सल्टेन्सी’का सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पाण्डेलाई मंगलबार काठमाडौं महानगरपालिका-२६ रानीबारी चोकबाट नियन्त्रणमा लिइएको थियो।
कन्सल्टेन्सीले आफ्नो छोरालाई कोरिया पठाउने भनेर २ वर्षदेखि अलपत्र पारेको भन्दै एक महिलाले सामाजिक सञ्जाल टिकटकमार्फत प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङसँग कारबाहीको माग गरेकी थिइन्।
सोही भिडियोका सम्बन्धमा अनुसन्धानका क्रममा पाण्डेलाई असोज २० गते नियन्त्रणमा लिइएको थियो। नुवाकोट बेलकोटगढी नगरपालिका वडा- ११ स्थायी ठेगाना भएका उनी हाल काठमाडौं महानगरपालिका-२६, सामाखुसी बस्दै आएका थिए।
सूचना अधिकारी प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पक्राउ परेका पाण्डेमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
असोज २१, २०८३ बुधबार १५:१४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।