फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट : रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहँदै आएका ३७ जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको हो। 

पक्राउ परेका प्रतिवादीहरूबाट सात वर्ष दुई महिना २७ दिन कैद सजाय र दुई लाख त्रिहत्तर हजार ७७७ जरिवाना असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेकामाथि जालसाजी, कुटपिट तथा अङ्गभङ्ग, विद्युतीय कारोबार ऐन, नागरिकता कीर्ते, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लेनदेन बिगो,  बाल शोषण, जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योग र चेक अनादरलगायतका मुद्दा रहेका छन्।  

प्रहरीको १० दिने विशेष अभियानअन्तर्गत पक्राउ परेका ३७ प्रतिवादीलाई कसुरअनुसार आवश्यक कारबाही, कैद तथा जरिवाना असुलीका लागि रौतहट जिल्ला अदालत, गौरमा बुझाइएको प्रवक्ता गौतमले जानकारी दिए।  

असोज २१, २०८३ बुधबार १४:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।