बाढी-पहिरोले अवरुद्ध मुख्य सडक दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी

बाढी-पहिरोले अवरुद्ध मुख्य सडक दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं : चाडपर्व नजिकिएसँगै सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध देशभरका मुख्य सडकहरू दसैँअघि नै मर्मत गरी सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्ले क्षति पुर्याएका राजमार्ग तथा रणनीतिक सडकहरूको मर्मत कार्य द्रुत गतिमा अघि बढाइएको छ।

“भोटेकोशी बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका सडक मर्मत भइरहेका छन्,” प्रवक्ता न्यौपानेले भने, “चार-पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात खुलाइनेछ भने मुस्ताङतर्फको सडक पनि चाँडै सुचारु हुँदैछ। यात्रामा केही असजिलो भए पनि सडककै कारण उपत्यकाबाट घर जान नपाउने वा खाद्यान्न तथा अत्यावश्यक ढुवानी रोकिने अवस्था रहने छैन।”

यता, नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार बाढी-पहिरोका कारण केही प्रमुख राजमार्ग अझै पूर्ण तथा आंशिक रूपमा प्रभावित छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवा जिल्ला जोड्ने मुख्य राजमार्गहरू अझै अवरुद्ध अवस्थामा छन्।

त्यस्तै, गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडकखण्ड असोज १० गतेको पहिरोपछि पूर्ण रूपमा बन्द छ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदिकाली गाउँपालिका-३ जन्ती पहिरोस्थित कालीगण्डकी करिडोर असोज १४ देखि अवरुद्ध भएकोमा हाल एकतर्फी खुलाइएको छ। यद्यपि, उक्त खण्डमा ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

यसैगरी, असोज १८ गतेको बाढीले प्रभावित मनाङको बेँसीसहर-खाङ्सार सडकखण्ड पनि हाल एकतर्फी मात्र सञ्चालनमा छ।

प्रहरीका अनुसार चाडपर्वलाई लक्षित गर्दै अवरुद्ध सबै सडकहरू यथाशीघ्र दुईतर्फी नै सञ्चालनमा ल्याउन सडक विभाग र सुरक्षा निकायबीच आवश्यक समन्वयसहित काम भइरहेको छ।

असोज २१, २०८३ बुधबार १३:३१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।