शुक्रबारसम्म भारी वर्षाको जोखिम
काठमाडौं : दशैं नजिकिँदै गर्दा देशका विभिन्न भू-भागमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहितको वर्षा सुरु भएको छ।
जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्हरूका अनुसार आगामी शुक्रबारसम्म देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहे पनि घटस्थापना (आइतबार) देखि भने मौसममा उल्लेख्य सुधार आउनेछ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असोज २१ गते (बुधबार) जारी गरेको तीन दिने मौसमी चेतावनी अनुसार शुक्रबारसम्म सतर्कता अपनाउनुपर्ने देखिएको छ।
बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना छ।
बिहीबार लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना यथावत् रहँदा शुक्रबार यी प्रदेशहरूमा दिउँसो एक-दुई स्थानमा भारी वर्षा दोहोरिने सम्भावना छ।
विभागले जोखिमयुक्त क्षेत्रमा ‘सतर्क रहन’ आग्रह गर्दै मौसमी चेतावनी जारी गरेको छ।
किन भइरहेको छ चट्याङ र असिनासहितको वर्षा ?
मौसमविद् विनोद पोखरेलका अनुसार हाल वायुमण्डलको माथिल्लो तहमा विकसित भएको पश्चिमी वायुको प्रणाली (‘अपर लेभल ट्रफ’) का कारण मौसम प्रभावित बनेको हो।
भारतको गोरखपुरबाट वायुमण्डलको ४५ हजार फिटमाथि सम्म गरिएको मापन (रेडियोसोन्ड) ले वायुमण्डल अत्यधिक ‘अस्थिर’ रहेको र ‘केप’ (Convective Available Potential Energy - CAPE) उच्च देखिएको उनले बताए।
यसकै प्रभावले बुधबार बिहानैदेखि काठमाडौं, पोखरा, चितवन र कैलालीसहितका भू-भागमा मेघगर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। पोखरेलका अनुसार छोटो समयमै तीव्र रूपमा मध्यमदेखि भारी वर्षा गराउने प्रणाली सक्रिय भएकाले केही स्थानमा बाढी र पहिरोको जोखिम हुन सक्छ।
घटस्थापनादेखि दशैंभर मौसम कस्तो रहला ?
मौसमविद् पोखरेलका अनुसार वर्षाको यो प्रणाली शनिबारसम्म पश्चिमबाट पूर्वतर्फ सर्दै कमजोर हुँदै जानेछ।
आगामी आइतबार (घटस्थापना) देखि भने देशभर नै मौसममा व्यापक सुधार आउने प्रक्षेपण गरिएको छ। त्यसपछि वर्षाको सम्भावना निकै न्यून रहने भएकाले यस वर्षको दशैंमा मौसम सफा र अनुकूल रहने उनले जानकारी दिए।
दशैंका लागि घर फर्कने यात्रुहरूलाई शुक्रबारसम्मको मौसमको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्न मौसमविद्हरूले सुझाव दिएका छन्।
असोज २१, २०८३ बुधबार ०९:२०:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।