बाढीले क्षति पुगेको मालढुङ्गा पुल दशैंअघि नै सञ्चालनमा ल्याइने
बागलुङ : कालीगण्डकी नदीको बाढीले पहुँचमार्ग बगाएको बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुल दशैंअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत तीव्र पारिएको छ।
गत असोज ११ गतेको बाढीले ११४ मिटर लामो पुलको करिब ३० मिटर पहुँचमार्ग कटान गरेपछि १० दिनदेखि यहाँ सीधा सवारी आवागमन अवरुद्ध छ।
सडक डिभिजन कार्यालय पोखराले ‘जियोब्याग’ र ‘जियोग्रिड’ प्रविधिमार्फत २४सै घण्टा काम गरिरहेको छ। पुल बन्द हुँदा पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, रुकुम र रोल्पा जोड्ने मुख्य सम्पर्क टुटेको छ।
हाल चाडपर्व लक्षित आवागमन र मालसामान ढुवानीका लागि मालढुङ्गा-बेनी हुँदै बागलुङ र पर्वतको फलेवास-जैमिनीघाट वैकल्पिक मार्ग प्रयोग भइरहेको छ।
सडक डिभिजन प्रमुख हरि सुवेदीले दशैंअघि नै पुल सञ्चालनमा ल्याएर बागलुङसहित पश्चिम रुकुम सम्मका यात्रुको यात्रा सहज बनाइने बताए।
कार्यालयका इन्जिनियर अमर अधिकारीका अनुसार चाडबाड नजिकिएसँगै बजारमा खाद्यान्न र ग्यास अभाव हुन नदिन द्रुत गतिमा मर्मत कार्य अघि बढाइएको हो।
पुलको अवस्था निरीक्षण गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले यो पुल राष्ट्रिय महत्त्वको लाइफलाइन भएको बताए।
उनले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको सङ्गमस्थल रहेकाले पर्यटन तथा आयात-निर्यात सहज बनाउन पुल तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए। साथै, हाल सञ्चालनमा रहेका वैकल्पिक मार्गबारे यात्रु र पर्यटकलाई स्पष्ट सूचना दिनुपर्ने उनको भनाइ थियो।
यसैबीच, स्थानीय पर्यटन व्यवसायी अर्जुन चोखालले मालढुङ्गा पुल अवरुद्ध भए पनि वैकल्पिक मार्गमार्फत बागलुङ बजारमा ग्यास, इन्धन तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति नियमित भइरहेको जानकारी दिए।
असोज २१, २०८३ बुधबार ०९:०४:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।