बाढीले बेनी-दरवाङ सडक कटान, दुखुबेँसी बस्ती जोखिममा
म्याग्दी : मालिका गाउँपालिका-६ बालौटेमा म्याग्दी नदीको कटानका कारण बेनी–दरवाङ सडक भत्किनुका साथै दुखुबेँसी गाउँ जोखिममा परेको छ।
असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीले पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिने उक्त सडक कटान गरेको हो।
नदीले सडक कटान गरेपछि दुखुबेँसीको फेदीबाट पहिरो सुरु भई बस्तीतर्फ सोझिएको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।
अध्यक्ष गर्बुजाका अनुसार अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गर्दा कटान तीव्र भएको हो। हाल दुखुखोलामा ह्युमपाइप राखी तोलावाङ जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइए पनि त्यो भरपर्दो छैन।
साँघुरो र कच्ची वैकल्पिक सडकमा ठूला सवारीसाधन आवतजावत गर्न कठिन छ भने पुनः बाढीले ह्युमपाइप बगाउने जोखिम उत्तिकै छ।
बागलुङको तमानखोला तथा म्याग्दी खोला बेसिनका ६ वटा जलविद्युत् आयोजनाका ढुवानीका साधनसमेत यही बाटो भएर गुड्ने भएकाले यहाँ सवारीको उच्च चाप रहन्छ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकका अनुसार करिब १०० मिटर सडक कालोपत्रसहित पूरै भत्किएको छ।
डिलतर्फ ठाउँ नभएको र भित्ता काट्दा बस्ती जोखिममा पर्ने भएकाले खोला किनारबाटै पक्की पर्खाल उठाएर सडक पुनर्निर्माण गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए।
वडाध्यक्ष पथबहादुर रोकाले पहिरोका कारण करिब १४० घरधुरी रहेको दुखुबेँसी गाउँ उच्च जोखिममा परेको जनाए।
यसैबीच, समस्या समाधानका लागि गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव नवराज शर्मासहितको टोलीले मंगलबार स्थलगत निरीक्षण गरेको छ।
सांसद जुग्जालीले बस्तीलाई असर नपुग्ने गरी दसैँअघि नै सडक पुनर्निर्माण गरेर सवारी आवागमन सहज बनाउनुपर्ने र आगामी बर्खाअगावै नदी नियन्त्रणको दिगो काम थाल्नुपर्ने प्रस्ताव गरे।
मन्त्रालयका सचिव शर्माले पूर्वाधार विकास कार्यालयको मौजुदा बजेटबाट ग्याबिन जाली खरिद र मजदुरको व्यवस्था गरी तत्काल काम सुरु गरिने बताए।
थप बजेट मन्त्रालयले व्यवस्था गर्ने, गाउँपालिकाले नदीजन्य निर्माण सामग्री जुटाउने र छिटो कामका लागि जलविद्युत् आयोजनाका उपकरण परिचालन गर्ने समझदारी बनेको उनले जानकारी दिए।
गण्डकी प्रदेशका अन्य क्षतिग्रस्त सडक मर्मतका लागि पनि बजेट अभाव हुन नदिने उनको भनाइ छ।
असोज २१, २०८३ बुधबार ०७:२१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।