गाउँमा बोका किन्दा नक्कली नोट दिएपछि समातिए दुई जना

गाउँमा बोका किन्दा नक्कली नोट दिएपछि समातिए दुई जना

ओखलढुङ्गा : ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो। 

उनीहरूले सुनकोशी-९ मा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा २८ हजारको कारोबार गरेका थिए।

सो क्रममा दुवै जनाले १९ हजार बराबरको १९ थान हजार रुपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महर्जनले बताए। 

प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। 

असोज २०, २०८३ मंगलबार २१:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।