कांग्रेसको वरिष्ठ उपसभापति र उपसभापति महिलामा एकल उम्मेदवारी
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पार्टी पदाधिकारीका दुई पद वरिष्ठ उपसभापति र उपसभापति महिलामा एकल उम्मेदवारी परेको छ।
मंगलबार मनोनयन दर्ताको निर्धारित समय सीमाभित्र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र उपसभापति महिलातर्फ पुष्पा भुसालको मात्र उम्मेदवारी दर्ता भएको छ।
उनीहरू दुवै नेता गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए। यी पदमा अरू कसैको उम्मेदवारी नपरेकाले आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू निर्विरोध निर्वाचित हुनेछन्।
यसअघि पार्टीको १४औँ महाधिवेशनमा शर्मा महामन्त्री पदमा निर्वाचित भएका थिए। पार्टी सभापति पदका लागि सभापति गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौर गरी तीन जनाको उम्मेदवारी परेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ ७ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो।
असोज २०, २०८३ मंगलबार २०:४०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।