कांग्रेस १५औँ महाधिवेशन : कुन पदमा क-कसले दिए उम्मेदवारी ?

कांग्रेस १५औँ महाधिवेशन : कुन पदमा क-कसले दिए उम्मेदवारी ?

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पदाधिकारी पदहरूमा उम्मेदवारी दर्ता भएको छ। निर्वाचन कार्य तालिकाअनुसार मंगलबार मनोनयन दर्ताको कार्यसूची रहेको थियो। 

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार पार्टी सभापति पदका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौर गरी तीन जनाको उम्मेदवारी परेको छ। एक जना वरिष्ठ उपसभापतिका लागि विश्वप्रकाश शर्माको एकल मनोनयन दर्ता भएको छ। एक महिला उपसभापतिमा पनि पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ।

उपसभापति खुलातर्फ नौ जनाको मनोनयन दर्ता भएको छ। डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादव रहेका छन्। त्यसैगरी, समावेशीतर्फ जीवन परियार, बिनोद चौधरी, फर्मुल्लाहा मनसुर, सीता गुरुङ र रन्जित कर्ण गरी पाँच जनाको उम्मेदवारी परेको छ।

यसैगरी दुई जना चयन हुने खुल्लातर्फ महामन्त्री पदमा आठ जना नेताहरूको उम्मेदवारी परेको छ। प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्यायले मनोनयन दर्ता गराएका छन्। एक जना महिलातर्फ महामन्त्रीमा भने डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनाल गरी तीन जनाको उम्मेदवारी दर्ता भएको छ।

सहमहामन्त्री महिलातर्फ नानु बस्तोला र प्रतिमा गौतमले मनोनयन दर्ता गराइन् भने पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही र मीन भामको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै खुलातर्फ देवेन्द्रराज कँडेल, रामहरि खतिवडा र डिल्लीराम सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्।

सहमहामन्त्री खसआर्यतर्फ तीन जनाको मनोनयन दर्ता भएको छ। जसमा मनोजमणि आचार्य, अजयबाबु शिवाकोटी र जगदिश्वरनरसिंह केसी रहेका छन्। आदिवासी जनजातीतर्फ भने बहादुरसिंह लामाको एकल उम्मेदवारी परेको छ। त्यस्तै थारुतर्फ तेजुलाल चौधरी र योगेन्द्र चौधरीको मनोनयन दर्ता भएको छ। एकल मनोनयन दर्ता हुनेमा अल्पसंख्यकतर्फ आङगेलु शेर्पा, मुस्लिमतर्फ अब्दुल सत्तर, मधेशीतर्फ अभिषेकप्रताप शाह रहेका छन्। 

सहमहामन्त्री दलिततर्फ चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही, मानबहादुर नेपाली र नरेन्द्र पासवान रहेका छन्। पार्टीको केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न बाकी नै छ। 

असोज २०, २०८३ मंगलबार २०:१७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।