काठमाडौंमा प्रहरीको ‘विशेष स्वीप अप्रेसन’ : २४ घण्टामा १०१ जना पक्राउ

काठमाडौंमा प्रहरीको ‘विशेष स्वीप अप्रेसन’ : २४ घण्टामा १०१ जना पक्राउ

काठमाडौं : जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको ‘विशेष स्वीप अप्रेसन’ का क्रममा पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार गएको २४ घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार र चालु मुद्दाका फरार ती प्रतिवादीलाई पक्राउ गरिएको  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

अपराध रोकथाम तथा नियन्त्रण गरी काठमाडौं उपत्यकामा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले परिसरले राजधानीका विभिन्न क्षेत्रमा उक्त अभियान सञ्चालन गरेको जनाएको छ। अभियानका क्रममा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत तथा दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाका रूपमा काम गर्ने र गुण्डागर्दी जस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ।

प्रहरीले अपराध नियन्त्रण तथा सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि न्यूनीकरणका लागि विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ।

असोज २०, २०८३ मंगलबार १८:१६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।