कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदनमाथि छलफल, भोलि सभापति थापाको सम्बोधन
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार तेस्रो दिनको बन्दसत्रमा प्रस्तुत विभिन्न चार वटा प्रतिवेदनमाथि छलफल सम्पन्न भएको छ। भोलिको बन्दसत्रमा पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार आजको बन्दसत्रमा सभापति थापाद्वारा प्रस्तुत ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी प्रस्तावमाथि प्रतिनिधिहरूले धारणा राखेका छन्।
यसैगरी, महामन्त्री गुरुराज घिमिरेको सङ्गठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको छ। उक्त छलफलमा सात वटै प्रदेशका साथै पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाका महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
भोलि बिहान साढे १० बजे बन्दसत्र पुनः प्रारम्भ हुने जानकारी दिँदै आचार्यले सत्रको सुरुआतमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रम छ।
असोज २०, २०८३ मंगलबार १६:३६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।