महामन्त्रीमै निरन्तरताका लागि पौडेलले दिए उम्मेदवारी

महामन्त्रीमै निरन्तरताका लागि पौडेलले दिए उम्मेदवारी

काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री बनेका प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमै उम्मेदवारी दर्ता गराएका छन्।

राष्ट्रिय सभागृहमा स्थापना गरिएको पार्टीको केन्द्रीय निर्वाचन कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन्। कांग्रेसको संशोधित विधानअनुसार दुई खुला र एक महिला गरी तीन जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ।

विशेष महाधिवेशनबाट जिम्मेवारी सम्हालेको करिब नौ महिनापछि उनले नियमित १५औँ महाधिवेशनमा पनि सोही पदमा निरन्तरताका लागि उम्मेदवारी दिएका हुन्। यसअघि १४औँ महाधिवेशनमा पनि महामन्त्री पदमा प्रतिस्पर्धा गरेका उनी त्यति बेला पराजित भएका थिए।

२०७९ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका उनले करिब एक वर्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए। जेनजी आन्दोलनमा राज्य पक्षबाट दमन भएको भन्दै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए। 

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सात हजार १४ जना महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको छ। केन्द्रीय निर्वाचन समितिको कार्य तालिकाअनुसार मंगलबार मनोनयन दर्ता सम्पन्न भएपछि असोज २१ र २२ गते नयाँ कार्यसमितिका लागि मतदान हुनेछ।

असोज २०, २०८३ मंगलबार १५:२१:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।