राजदूतको सुनुवाइ असोज २६ देखि, गम्भीर उजुरी परेकाको छुट्टै सुनुवाइ

राजदूतको सुनुवाइ असोज २६ देखि, गम्भीर उजुरी परेकाको छुट्टै सुनुवाइ

काठमाडौ : सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ।

समितिको मंगलबार बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज २६ र २७ गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्नेगरि तयारी भइरहेको जानकारी दिए। 

बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २८ गते गर्ने तयारी भइरहेको जानकारी दिँदै उपसमिति बनाउनुपर्ने खालका भए दसैँपछि सुनुवाइ हुने जानकारी दिए। 

उनले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताए। जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनुवाइ अघि बढाउन सकिने उनको भनाइ थियो।

सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई बिदाको समयमा समेत प्रस्तावित राजदूतसम्बन्धी विषय अध्ययन गर्न आग्रह गरे। उनले प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी र उनीहरूले पेस गरेको कार्ययोजनासम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूलाई उपलब्ध गराइसकिएको जानकारी दिए। 

असोज २०, २०८३ मंगलबार १४:३७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।