कांग्रेसको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७१ सय प्रतिनिधिले चुन्नेछन् २ सय ९७ कार्यसमिति
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।
राष्ट्रिय सभागृहमा तय गरिएको निर्वाचन प्रक्रियामार्फत देशभर तथा प्रवासबाट आएका ७ हजार ११४ जना महाधिवेशन प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।
निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी निर्वाचन कार्यतालिका अघि बढाएको छ।
समितिका सदस्य सचिव राजु कटवालका अनुसार बिहान १० बजेदेखि मनोनयन फारम वितरण सुरु भएको छ भने दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
उम्मेदवार बन्न चाहनेले सभागृहभित्रै स्थापना गरिएको प्रभु बैंकको काउन्टरमा निर्धारित दस्तुर बुझाएर भौचरसहित मनोनयन पत्र दर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको छ। मतदाता नामावली सभागृहको भित्री पर्खालमा टाँसिएको छ।
केन्द्रीय कार्यसमिति र पदाधिकारीको आकारमा भारी विस्तार
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमिति र पदाधिकारीको संरचनामा ठूलो फेरबदल गरेको छ।
सोमबार पारित संशोधित विधानअनुसार केन्द्रीय कार्यसमितिको आकार यसअघिको १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याइएको छ।
संशोधित विधानअनुसार पार्टीमा एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थप गरी उपसभापतिको संख्या चार पुर्याइएको छ।
महामन्त्रीको संख्या तीन पुर्याइएको छ, जसमा एक जना महिला अनिवार्य गरिएको छ। यस्तै दुई खुला सहमहामन्त्री थपिएसँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ।
प्रवक्ता पद विधानमै व्यवस्था गरिएको छ भने आवश्यकताका आधारमा सहप्रवक्ताहरू थप गर्न सकिने प्रावधान राखिएको छ।
यसअघि सम्पन्न १४औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १६७ सदस्यीय र पदाधिकारी संख्या १४ मात्र थियो।
पार्टीमा प्रतिनिधि संख्या र समावेशी सहभागिताको दायरा फराकिलो बनाउन कार्यसमिति र पदाधिकारीको आकार बढाइएको निर्वाचन समितिले जनाएको छ।
असोज २०, २०८३ मंगलबार १०:३६:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।