धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना घाइते भएका छन्।
गएराति स्थानीय खुशिलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला घर नजिकै चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्।
घाइते हुनेहरूमा ५५ वर्षीया बाग्मती चौधरी, ३५ वर्षीया आरती चौधरी, ३५ वर्षीया जानकी चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १४ वर्षीया रेनुका चौधरी, १३ वर्षीया श्रृष्टी चौधरी र सात वर्षीय बालक सिसिर चौधरी रहेका छन्।
घटनालगत्तै उद्धार गरिएका उनीहरूलाई राति नै धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचाररत सबै घाइतेहरूको अवस्था खतरामुक्त र सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
असोज २०, २०८३ मंगलबार ०९:२९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।