घटस्थापनासम्मै पानी पर्ने, धान काट्ने किसान र पदयात्रीलाई सतर्क रहन आग्रह

घटस्थापनासम्मै पानी पर्ने, धान काट्ने किसान र पदयात्रीलाई सतर्क रहन आग्रह

काठमाडौं : बडादशैँ नजिकिँदै गर्दा देशका विभिन्न भागमा वर्षाको सम्भावना बढेको छ। हाल नेपालमा मनसुनी वायुका साथै कमजोर पश्चिमी वायु (अपर-लेभल ट्रफ) को दोहोरो प्रभाव परेकाले आगामी केही दिन देशभर वर्षा र बदलीको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार भूमध्य सागर, अरब सागर र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण नेपालको आकाशमा न्यूनचापीय रेखा बनेको छ। जसले गर्दा आगामी घटस्थापनाको दिनसम्म नै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने देखिएको छ।

मौसम पूर्वानुमान अनुसार मंगलबार र बुधबार मध्यपहाडी क्षेत्र र काठमाडौं उपत्यकामा राम्रो वर्षा हुने सम्भावना छ भने तराईका अधिकांश जिल्लामा लगातार झरी नपरे पनि चुरे क्षेत्र आसपासमा दिउँसो र अपरान्हतिर वर्षा हुनसक्छ।

सुदूरपश्चिम र कर्णालीका केही स्थानमा छोटो समयका लागि भारी वर्षाको समेत सम्भावना रहँदा आगामी एक हप्तामा देशभर सरदर ५० देखि ६० मिलिमिटरसम्म वर्षा हुनसक्ने विभिन्न चारवटा मौसमी मोडलहरूको विश्लेषणले देखाएको छ।

घटस्थापनापछि मात्र मौसममा सुधार हुने
मौसमविद् पोखरेलका अनुसार आजदेखि पर्सिसम्म देशका धेरै ठाउँमा बादल लाग्ने र पानी पर्ने क्रम जारी रहनेछ। घटस्थापनाको दिन अर्थात आइतबारबाट भने पानी पर्ने क्रम क्रमशः घट्दै जानेछ र त्यसपछि मौसम खुल्दै जाने तथा घाम लाग्ने सम्भावना रहेको छ।

यतिबेला खेतमा धान पाकेर भित्र्याउने समय भएकाले किसानहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। मौसमविद् पोखरेलले मौसमको दैनिक पूर्वानुमान हेरेर मात्र धान काट्ने दिन छनोट गर्न सुझाव दिएका छन्। आकाशमा लगातार झरी नपरे पनि जुनसुकै बेला पानी पर्न सक्ने भएकाले काटेको धान खेतमै भिज्ने जोखिम रहन्छ।

यसैगरी ट्रेकिङ जाने पर्यटक तथा उच्च हिमाली क्षेत्रको यात्रा गर्नेहरूलाई पनि बदली, वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना रहेकाले पूर्वतयारी र सतर्कता अपनाउन भनिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षा र उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ।

असोज २०, २०८३ मंगलबार ०७:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।