सूचना चुहावटको अभियोगमा सशस्त्रका एआईजी दाहाल निलम्बित

सूचना चुहावटको अभियोगमा सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौं : गृह मन्त्रालयले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको अभियोगमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ। सूचना चुहावटको अभियोगमा उनीमाथि जाँचबुझ गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृतसमेत तोकिएको छ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा सोमबार जारी विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बलले एआईजी दाहालले आचरण विपरीत सूचना चुहावट गरेको भनेर कारबाहीका लागि मन्त्रालयमा सिफारिस पठाएको थियो। सोही सिफारिसका आधारमा मन्त्रालयले सोमबार उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो। 

विज्ञप्तिमा भनिएको छ, “सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीतको कार्य गरेको भनी सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीको लागि मन्त्रालयमा सिफारिस प्राप्त भएकोमा उक्त अभियोग उपर जाँचबुझ गर्न यस मन्त्रालयको मिति २०८३/६/१९ गतेको निर्णयअनुसार निजलाई निलम्बन गरी ३ (तीन) दिनभित्र जाँचबुझ सम्पन्न गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको छ।”

मन्त्रालय मातहतका कर्मचारीहरूबाट हुने पदीय आचरण विपरीतका कार्य, गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी र विश्लेषण भइरहेको विज्ञप्तिमा उल्लेख छ। गृह मन्त्रालयले कानुन विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। 

असोज १९, २०८३ सोमबार २०:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।