झलनाथ खनालले घोषणा गरे ‘समाजवादी जागरण अभियान’
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले कम्युनिस्ट आन्दोलनमा वैचारिक रूपमा पुनर्गठनको आवश्यकता औँल्याउँदै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आफ्नै अगुवाइमा ‘समाजवादी जागरण अभियान’को घोषणा गरेका खनालले सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन्।
खनाल नेतृत्वमा शनिबार भएको भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ। सोही भेलाले समाजवादी जागरण अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो। भेलाबाट पारित निर्णय र अभियानका विषयमा सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) गठन हुँदाको अवस्थालाई स्मरण गर्दै खनालले भने, "नेकपा गठन हुँदा सबैभन्दा धेरै म नै खुसी थिएँ। यो पार्टीले कायापलट नै गर्छ कि भन्ने लागेको थियो। पार्टी निर्माण गर्दा जसरी जनतालाई भन्दै आएका थियौँ, त्यो पूरा हुन्छ कि भन्ने आशा थियो।"
उनले नेकपा परित्याग गरेको संकेत पनि गरे। साथै उनले पार्टीले जनअपेक्षाअनुसार काम गर्न नसकेको र दुई तिहाइ बहुमत भएको संसद्समेत विघटन गर्ने अवस्था आएको बताए।
"तर हेर्दाहेर्दै दुई तिहाइ बहुमत भएको संसदलाई समेत विघटन गर्ने बेला आयो। त्यसपछि पनि पार्टीले जसरी जनमुखी भएर नीति कार्यक्रम लागू गर्नुपर्ने थियो, त्यो नहुँदा पार्टी बिस्तारै जनताबाट अलग हुँदै गयो। पार्टीले जनतासँग घनिष्ठ सम्बन्ध हुँदैन, त्यसले चौतर्फी पराजय व्यहोर्नु अनिवार्य हुन्छ," उनले भने।
खनालले अब समाजवादमा जानुको अर्को विकल्प नरहेको भन्दै सबै वामपन्थी शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने बताए। उनले भने, "अब समाजवादमा जानुको अर्को विकल्प छैन। त्यसैले समाजवादी जागरण अभियान सञ्चालन गरेर सम्पूर्ण वामपन्थीलाई एक ठाउँमा ल्याउनुपर्छ भनेर यो अभियान सुरु गर्न लागेका हौं।"
उनले अभियान देशका समस्त कम्युनिस्टलाई एकताबद्ध गर्नका लागि भएको बताए। "अभियान देशका समस्त कम्युनिस्टहरूलाई एकताबद्ध गर्नको लागि हो। अहिले हाबी भएको दक्षिणपन्थी भड्काउबाट मुक्त गर्नको लागि सुरु गरेको हो," खनालले भने।
नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न अभियानले भूमिका खेल्ने उल्लेख गर्दै उनले भने, "यो अभियानले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गरेर मात्र विसर्जित हुन्छ।"
असोज १९, २०८३ सोमबार १७:०६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।