कांग्रेस केन्द्रीय समितिबाट गगनको राजनीतिक प्रतिवेदन पारित : निर्मम आत्मसमीक्षा, चुनावपूर्व गठबन्धन नगर्ने नीति
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टी सभापति गगनकुमार थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेको छ।
यो प्रतिवेदन अब जारी १५औँ महाधिवेशनको बन्दसत्रमा औपचारिक रूपमा पेस हुनेछ।
प्रतिवेदनमार्फत आगामी चार वर्षका लागि पार्टीको वैचारिक, राजनीतिक, सांगठनिक तथा आर्थिक कार्यदिशा तय गरिएको छ।
विगत दुई दशकको राजनीतिक अभ्यासमाथि निर्मम आत्मसमीक्षा गरिएको यस दस्ताबेजले ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को मूल संकल्प अघि सारेको छ।
सत्ताकेन्द्रित राजनीतिप्रति आत्मसमीक्षा र क्षमायाचना
प्रतिवेदनमा कांग्रेसले विगत दुई दशकमा विचारभन्दा पद र सत्तालाई प्राथमिकता दिएको तथ्यलाई खुला रूपमा स्वीकार गरिएको छ।
सत्ताका लागि गरिएका भागबन्डा, अप्राकृतिक गठबन्धन, आन्तरिक गुटबन्दी र भ्रष्टाचारमा संलग्न आफ्नै दलका व्यक्तिहरूलाई जोगाउने गलत प्रवृत्तिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, बदलिँदो सामाजिक मनोविज्ञान बुझ्न नसक्दा युवा पुस्तासँग पार्टीको दूरी बढेको स्वीकार गर्दै प्रतिवेदनमार्फत जनतासँग क्षमायाचना गरी पार्टी पुनर्संरचनाको सङ्कल्प गरिएको छ।
प्रतिवेदनका मुख्य प्रस्ताव
विगतको अभ्यासको समीक्षा गर्दै कांग्रेसले अब कुनै पनि निर्वाचनमा चुनावअघि गठबन्धन नगर्ने सैद्धान्तिक अडान लिएको छ।
सुशासन र शासकीय सुधारका लागि एकै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्थाको वकालत गरिएको छ।
पार्टी र नेतृत्व सत्तामा पुग्दा के काम गर्ने र के कदापि नगर्ने भन्ने विषयमा जनतासमक्ष स्पष्ट प्रतिबद्धता जनाउने खाका प्रतिवेदनमा छ।
यस्तै सार्वजनिक निर्णय र राज्यको बजेट खर्च कुन अधिकारीको निर्णयबाट भयो भन्ने विवरण नागरिकले प्रत्यक्ष हेर्न सक्ने पारदर्शी डिजिटल प्रणाली विकास गर्ने प्रस्ताव छ।
बदलिँदो विश्व परिवेशलाई मध्यनजर गर्दै कृत्रिम बौद्धिकता, सूचना प्रविधि, जलवायु परिवर्तन र हरित विकासलाई पार्टीको आर्थिक नीतिको हिस्सा बनाइएको छ।
पार्टी संगठनमा पाँच पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने, आन्तरिक अनुशासन कायम गर्ने तथा सहिद, घाइते र विस्थापितका लागि अक्षयकोष स्थापना गर्ने योजना समेटिएको छ।
असोज १९, २०८३ सोमबार १२:४९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।