बाल क्यान्सर उपचारमा सुधारका लागि एकीकृत राष्ट्रिय संयन्त्र आवश्यक

बाल क्यान्सर उपचारमा सुधारका लागि एकीकृत राष्ट्रिय संयन्त्र आवश्यक

काठमाडौं : नेपालमा बाल क्यान्सरको प्रभावकारी उपचार, सहज पहुँच र व्यवस्थापनका लागि सरकारसहित सबै सरोकारवालाहरू सम्मिलित एकीकृत राष्ट्रिय समन्वय संयन्त्र बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

राजधानीमा आयोजित ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ले यस्तो निष्कर्ष निकालेको हो।

वर्ल्ड चाइल्ड क्यान्सर, रमेश गुप्ता मेमोरियल ट्रस्ट र टीएसीसीको संयुक्त आयोजनामा सम्पन्न गोष्ठीमा सरकारी प्रतिनिधि, चिकित्सक, स्वास्थ्यकर्मी, नागरिक समाज, क्यान्सर विजेता र अभिभावकहरूको सहभागिता थियो।

गोष्ठीले बाल क्यान्सरलाई राष्ट्रिय स्वास्थ्यको प्राथमिकतामा राख्दै स्पष्ट लक्ष्य र समयसीमासहितको राष्ट्रिय कार्ययोजना तथा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने तथा ​​​​​​समुदायस्तरमै रोगको प्रारम्भिक पहिचान, समयमै अस्पताल पठाउने भरपर्दो प्रणाली, आवश्यक औषधि तथा रगतजन्य सामग्रीको सहज उपलब्धता हुनुपर्ने निष्कर्ष निकालेको थियो।

यसका अलावा रोग पहिचान, बिरामीको बाँच्ने दर र उपचार बीचमै छाड्ने समस्याको अनुगमन गर्न राष्ट्रियस्तरको भरपर्दो तथ्यांक प्रणाली स्थापना गर्नुपर्ने अनि चिकित्सकीय उपचारका साथै बालबालिका र परिवारलाई आवश्यक पोषण, मनोसामाजिक परामर्श तथा पुनर्स्थापना सेवालाई उपचार प्रणालीमा अनिवार्य जोड्नुपर्ने पनि गोष्ठीको निष्कर्ष थियो।

असोज १९, २०८३ सोमबार १२:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।