कोहलपुरमा उपचारका क्रममा दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक, करणीसम्बन्धी जाहेरीपछि मेडिकल सञ्चालक पक्राउ
काठमाडौं : बाँकेको कोहलपुर नगरपालिका- ११ रेडक्रस रोडमा सञ्चालित थापा पोलिक्लिनिकका उपचारका लागि गएकी एक महिलाको संवेदनशील अंग छोएको आरोपमा प्रहरीले पोलिक्लिनिक सञ्चालक गणेशबहादुर थापालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा उपचारका क्रममा महिलाको संवेदनशील अंग छोएको/चलाएको भन्दै भिडियो पोस्ट भएपछि पीडितबाट करणीसम्बन्धी कसुरमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जाहेरीपछि प्रहरीले कोहलपुर नगरपालिका-११ बस्ने ६३ वर्षीय थापालाई पक्राउ गरेको हो। उनी सीएमए प्रमाणपत्र प्राप्त स्वास्थ्यकर्मी तथा थापा पोलिक्लिनिकका सञ्चालक रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट आइतबार सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषदको आचारसंहिता अनुसार स्वास्थ्यकर्मीले महिला बिरामीको संवेदनशील अंगको परीक्षण गर्दा संरक्षकको अनिवार्य उपस्थितिमा मात्र परीक्षण गर्नुपर्ने व्यवस्था रहेको छ।
असोज १९, २०८३ सोमबार १२:२३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।