सुनसरीमा तरकारी बोक्ने ट्रकबाट साढे २५ क्विन्टल बढी गाँजासहित दुई जना पक्राउ
सुनसरी : सुनसरीको इनरुवाबाट प्रहरीले ठूलो परिमाणमा अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत इनरुवा नगरपालिका–३ स्थित सखुवागाछी चोकमा जाँच गर्ने क्रममा प्रहरीले दुई हजार ५६६ किलो (२५ क्विन्टलभन्दा बढी) गाँजा बरामद गरेको हो।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागेर रोकेर जाँच गर्दा बन्दागोबीले ढाकेर ८३ वटा बोरामा लुकाएर ल्याइएको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिए।
अवैध गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–२ का ३३ वर्षीय चालक राजु राई र १८ वर्षीय सहचालक सन्दीप राईलाई पक्राउ गरिएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।
असोज १९, २०८३ सोमबार ११:११:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।