गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै मुख्यमन्त्री पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफू चुनावी मैदानमा उत्रिन लागेको बताएका छन्।

पार्टीका सबै तह र पुस्ताका नेता-कार्यकर्तालाई संवाद, सहकार्य र साझा उद्देश्यका आधारमा एउटै सूत्रमा बाँध्नु आफ्नो प्रमुख प्राथमिकता हुने उनको भनाइ छ।

कांग्रेसको राजनीतिमा ४५ वर्षभन्दा लामो समय बिताएका पाण्डे तीन पटक केन्द्रीय सदस्य भइसकेका छन्। उनले आफ्नो लामो अनुभव र युवा पुस्तासँगको निरन्तर सहकार्यलाई राजनीतिक पुँजीका रूपमा प्रस्तुत गरेका छन्।

‘हिजोको अनुभव, आजको ऊर्जा र भोलिको यात्राबीचको सहकार्यबाट नयाँ आधार निर्माण गर्दै अघि बढ्नुपर्नेछ’, पाण्डेले भनेका छन्।

सरकार सञ्चालन र संगठन दुवैको अनुभवलाई पार्टीको हितमा उपयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सुशासन, पारदर्शिता, जवाफदेहिता र संगठन सुदृढीकरणलाई मुख्य एजेन्डा बनाएका छन्।

मुख्यमन्त्रीको जिम्मेवारीमा रहँदा लोकतान्त्रिक आदर्श र सुशासनलाई मूल आधार बनाएर काम गरेको दाबी गर्दै उनले पार्टीलाई पनि सोही दिशामा अघि बढाउने बताए।

पाण्डेले पार्टीका सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको साथ र विश्वासबाट आफू उपसभापति पदमा विजयी हुने विश्वाससमेत व्यक्त गरेका छन्।

असोज १९, २०८३ सोमबार १०:१८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।