बागलुङमा सडक खन्ने क्रममा ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
बागलुङ : बागलुङको निसीखोला गाउँपालिका-३, बोहरागाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा सल्यानका २८ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुरको गाईघाटका ३२ वर्षीय राजु थापा रहेका छन्।
प्रहरीका अनुसार आज बिहान करिब साढे ७ बजे काप्रा-बोहरागाउँ-छापाखानी (प्यूठान) सडकखण्ड स्तरोन्नतिको काम भइरहेको थियो।
भद्र मल्लले चलाएको लु १ क ३४४६ नम्बरको जेसिबीले सडक खन्ने क्रममा अचानक माथिबाट खसेको माटोको ढिस्कोले तीन मजदुरलाई पुरेको थियो।
ढिस्कोमा पुरिएकामध्ये बुढाथोकी र थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) फणिन्द्र प्रसाईंले जानकारी दिए।
दुर्घटनामा पुरिएका रोल्पाका कृष्ण घर्ती मगरलाई भने घाइते अवस्थामा जीवितै उद्धार गरिएको छ।
गम्भीर घाइते घर्ती मगरलाई उपचारका लागि बुर्तिबाङस्थित प्रादेशिक अस्पताल पठाइएको वडाध्यक्ष रमेशविक्रम शाहीले बताए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
असोज १९, २०८३ सोमबार १०:०५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।