युवा कोटाबाट कांग्रेस केन्द्रीय सदस्यमा अर्थशास्त्री डा. सुदन वलीको उम्मेदवारी घोषणा
काठमाडौं : अर्थशास्त्री डा. सुदनकुमार वलीले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले पार्टी विधानको व्यवस्थाअनुसार ‘३५ वर्षमुनिका युवा’ कोटातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।
रोल्पा स्थायी घर भएका डा. वली यसअघि नै रोल्पाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भइसकेका छन्। उनी गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा रोल्पाबाट प्रत्यक्षतर्फ उम्मेदवारसमेत बनेका थिए। डा. वली कांग्रेसको १२औँ महाधिवेशनदेखि नै पार्टीको क्रियाशील राजनीतिमा छन्।
चीनबाट अर्थशास्त्रमा विद्यावारिधि (पीएचडी) गरेका डा. वलीसँग नीति तथा योजना निर्माणको लामो अनुभव छ। उनले यसअघि पार्टीको केन्द्रीय आर्थिक नीति तथा योजना विभाग र केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा नीति विज्ञका रूपमा काम गरिसकेका छन्।
यसैगरी, डा. वलीले लुम्बिनी प्रदेश योजना आयोग र संघीय सरकारका विभिन्न मन्त्रालयका परियोजनाहरूमा पनि विज्ञको भूमिका निर्वाह गरेका छन्।
हाल उनी ‘इनिसियटिभ फर इक्विटेबल अर्थ’ मार्फत आर्थिक तथा सामाजिक नीतिसम्बन्धी अध्ययन-अनुसन्धानमा क्रियाशील छन्। पार्टीलाई नीतिगत रूपमा सबल बनाउन र युवाको आवाज स्थापित गर्न आफूले केन्द्रीय सदस्यमा दाबेदारी प्रस्तुत गरेको उनको भनाइ छ।
असोज १९, २०८३ सोमबार ०९:२६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।