कांग्रेस महाधिवेशन : गगनले अघि सारे ‘समुन्नत नेपाल र पुनर्जागरण’को १० वर्षे मार्गचित्र
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा सभापति गगनकुमार थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दैछन्।
प्रतिवेदनमार्फत उनले पार्टीको निर्मम आत्मसमीक्षा गर्दै आगामी १० वर्षका लागि कांग्रेसको वैचारिक, राजनीतिक र सांगठनिक कार्यदिशा अघि सारेका छन्। थापाको राजनीतिक प्रतिवेदनका मुख्य चार आधार यस्ता छन्:
सत्ता-केन्द्रित राजनीतिको आत्मसमीक्षा
प्रतिवेदनमा विगत दुई दशकको राजनीतिक अभ्यास, निर्वाचनको समीक्षा, कांग्रेसमा मौलाएको सत्ता–केन्द्रित चरित्र र युवा पुस्तासँग बढेको दूरीमाथि गम्भीर आत्मसमीक्षा गरिएको छ।
बदलिँदो सामाजिक मनोविज्ञान, तीव्र बसाइँसराइ र आर्थिक मन्दीलाई वर्तमानका मुख्य चुनौतीका रूपमा औंल्याइएको छ। साथै, जनअसन्तोषको फाइदा उठाउँदै बढिरहेको 'लोकरिझ्याइँ' (पपुलिजम) ले लोकतन्त्रलाई नै जोखिममा पार्न सक्ने भन्दै त्यसको प्रतिरक्षामा कांग्रेस दृढ भएर उभिनुपर्ने उल्लेख छ।
चुनावी दल मात्र होइन, राष्ट्रिय शक्ति
कांग्रेसलाई चुनावका बेला मात्र ब्युँझिने दलबाट मुक्त गरी नागरिकको दैनिक जीवनसँग जोडिने ‘राष्ट्रिय शक्ति’ बनाउनुपर्ने थापाको प्रस्ताव छ।
संसद्मा जिम्मेवार र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका गुनासा सुन्ने, तथ्यमा आधारित भएर समस्याको समाधान खोज्ने र गुमेको सार्वजनिक विश्वास पुनर्निर्माण गर्ने कार्यभार प्रतिवेदनले तय गरेको छ।
समाजवादको पुनर्व्याख्या र ‘समुन्नत नेपाल’
थापाले राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई २१औँ शताब्दीको परिवेशअनुकूल पुनर्व्याख्या गरेका छन्। राष्ट्रियतालाई जनस्वाधीनतासँग, लोकतन्त्रलाई नागरिक स्वामित्वसँग र समाजवादलाई वास्तविक सामाजिक-आर्थिक स्वतन्त्रतासँग जोडिएको छ।
यस्तै, ‘समुन्नत नेपाल’ को अवधारणालाई केवल आर्थिक वृद्धिसँग मात्र नजोडी नागरिक, राज्य र संस्थाहरूबीचको पारस्परिक जवाफदेहिताका रूपमा अघि सारिएको छ। यस प्रणालीलाई उनले ‘सिटिजनसिप अपरेटिङ सिस्टम’का रूपमा परिभाषित गरेका छन्।
कस्तो बन्नेछ अबको कांग्रेस?
आगामी कांग्रेस ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ हुने खाका प्रतिवेदनमा छ। जसमा पाँच पुस्ताको सहयात्रा, तहगत समन्वय, अर्थपूर्ण समावेशिता र आन्तरिक लोकतन्त्रलाई जोड दिइएको छ।
संगठनात्मक सुधारका लागि पार्टीका जनप्रतिनिधिहरूमाथि कडा नैतिक मापदण्ड, स्वच्छ वित्तीय प्रणाली र नियमित सार्वजनिक लेखापरीक्षण (पब्लिक अडिट) अनिवार्य गरिने प्रस्ताव गरिएको छ।
थापाले आफ्नो चार वर्षे नेतृत्वकाललाई परिणाममुखी सुधारसँग जोड्दै त्यसपछिको दशकलाई समग्र राष्ट्रिय पुनर्जागरणको समय बनाउने राजनीतिक प्रतिबद्धता जनाएका छन्।
असोज १९, २०८३ सोमबार ०९:०४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।