हिउँ छिचोल्दै मुस्ताङ आइपुगे डोल्पाका भेडाच्याङ्ग्रा
मुस्ताङ : दशैं नजिकिएसँगै हिमाली जिल्ला मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ। यसै क्रममा माथिल्लो डोल्पाबाट हिउँ छिचोल्दै पहिलो लटमा करिब एक हजार भेडाच्याङ्ग्रा जोमसोम आइपुगेका छन्।
डोल्पाका व्यापारी शेरबहादुर रोकायासहित पाँच जनाको टोली असोज ९ गते डोल्पो बुद्ध गाउँपालिकाबाट हिँडेर १७ गते साँझ जोमसोम आइपुगेको हो।
विगत ३० वर्षदेखि च्याङ्ग्रा व्यापार गर्दै आएका रोकायालाई डोल्पाबाट जोमसोम आइपुग्न एक साताभन्दा बढी समय लाग्यो। हाल ती भेडाच्याङ्ग्रा जोमसोमस्थित घरपझोङ गाउँपालिकाको सार्वजनिक मैदानमा राखिएका छन्।
यसपटकको यात्रा निकै कष्टकर र जोखिमपूर्ण रहेको रोकायाले बताए। ‘डोल्पाबाट मुस्ताङ जोड्ने पदमार्गमा सेताम्मे हिउँ जमेको थियो,’ उनले भने, ‘भारी वर्षा, हिमपात र अत्यधिक चिसो छिचोल्दै बल्लतल्ल च्याङ्ग्रा जोमसोम ल्याउन सफल भयौँ।’
माथिल्लो डोल्पाका डोल्पो बुद्ध, शे-फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका किसानबाट च्याङ्ग्रा खरिद गरिएको उनले जानकारी दिए।
नेपाल-चीन सीमा क्षेत्रमा लाग्ने 'चोङ्ग्रा मेला' बन्द भएकाले यस वर्ष डोल्पामै पुगेर किसानसँग सिधै खरिद गर्नुपरेको उनको भनाइ छ।
रोकायाका अनुसार गत वर्षको तुलनामा यस वर्ष डोल्पाबाट कम सङ्ख्यामा च्याङ्ग्रा झारिँदै छ।
गत वर्ष ११ हजारभन्दा बढी च्याङ्ग्रा ल्याइएकामा यसपटक करिब आठ हजारको हाराहारीमा मात्रै जोमसोम भित्रिने अनुमान छ। गत दशैंमा आंशिक घाटा व्यहोरे पनि यस वर्ष आफूले च्याङ्ग्रामा ठूलो लगानी गरेको उनले बताए।
बाढीपहिरोका कारण सडक तथा पदमार्ग अवरुद्ध भएमा च्याङ्ग्रा पोखरालगायतका सहरमा लैजान समस्या हुने चिन्ता व्यापारीहरूको छ।
‘हाम्रो सबै सम्पत्ति च्याङ्ग्रामै लगानी भएको छ,’ रोकायाले भने, ‘दशैंको मुखमा च्याङ्ग्रा बजार पुर्याउने र डोल्पा फर्कने बाटो सरकारले समयमै सहज बनाइदिए ठूलो राहत हुन्थ्यो।’
यता, उपल्लो मुस्ताङबाट पनि च्याङ्ग्रा जोमसोम झार्ने क्रम सुरु भइसकेको छ।
असोज १९, २०८३ सोमबार ०७:३८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।