चितवनमा मोटरसाइकल रुखमा ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते
चितवन : चितवनको इच्छाकामना गाउँपालिका-७, सिमलढापमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-११ निवासी २९ वर्षीय देवेन्द्र थापा रहेका छन्।
सिमलढापबाट भरतपुरतर्फ आउँदै गरेको बुलेट मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका थापा र मोटरसाइकलमा सवार स्याङ्जाको वालिङ नगरपालिका-८ निवासी सागर थापालाई तत्काल उपचारका लागि चितवन मेडिकल कलेज (भरतपुर) पुर्याइएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले देवेन्द्रलाई मृत घोषणा गरेका हुन्।
घाइते सागर थापाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १९, २०८३ सोमबार ०७:३३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।