कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि बस्दै, बन्दसत्रमा सभापतिको राजनीतिक प्रतिवेदन पेस हुने
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोलि बिहान १० बजे महाधिवेशन स्थल खुलामञ्चमा बस्ने भएको छ।
महाधिवेशनको औपचारिक प्रक्रिया अघि बढाउनका लागि कार्यसमिति बैठक आह्वान गरिएको हो। खुलामञ्चमै बस्ने केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु हुनेछ।
बन्दसत्रमा पार्टीका सभापति गगनकुमार थापाले समसामयिक राजनीतिक अवस्था, पार्टीको भावी दिशा र कार्यदिशा समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, पार्टीको सांगठनिक पुनर्संरचना र समयसापेक्ष सुधारका लागि महामन्त्री गुरुराज घिमिरेले विधान संशोधन सम्बन्धी प्रस्ताव बन्दसत्रमा प्रस्तुत गर्नेछन्।
केन्द्रीय समिति बैठकले बन्दसत्रमा पेस हुने राजनीतिक प्रतिवेदन र विधान संशोधनसहितका एजेन्डाहरूलाई प्रारम्भिक रूपमा अनुमोदन गरेपछि प्रतिनिधिहरूमाझ लैजाने तयारी गरेको छ।
बन्दसत्रमा पेस हुने दुवै प्रस्तावमाथि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूबीच समूहगत छलफल हुनेछ।
प्रतिनिधिहरूबाट प्राप्त सुझावहरू समेटेर प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गरिएपछि महाधिवेशन निर्वाचन कार्यतालिका अनुसार नयाँ नेतृत्व चयनको प्रक्रियातर्फ प्रवेश गर्नेछ।
असोज १८, २०८३ आइतबार २२:०८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।