कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक, असोज २२ मा मतदान हुने (तालिकासहित)

कांग्रेसको १५औं महाधिवेशन कार्यतालिका सार्वजनिक, असोज २२ मा मतदान हुने (तालिकासहित)

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

समितिका संयोजक प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो।

सार्वजनिक कार्यतालिकाअनुसार आगामी असोज २२ गते बिहान ७:३० देखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने र त्यसलगत्तै अन्तिम परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन तालिकाअनुसार मतदाता नामावली प्रकाशन असोज १९ गते बेलुका ५ बजे हुनेछ भने दाबी विरोध तथा जाँचबुझ बेलुका ५ देखि साढे ७ बजेसम्म हुन्छ अनि मतदाताको अन्तिम नामावली प्रकाशन सोही दिन बेलुका साढे ८ बजे हुनेछ।

उम्मेदवारी मनोनयन दर्ता भोलिपल्ट असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुँदा उम्मेदवारको नामावलीमाथि दाबी विरोध दिउँसो ४:३० देखि साँझ ६:३० सम्म हुनेछ।

उम्मेदवारी फिर्ता असोज २१ गते बिहान ९ बजेसम्म हुनेछ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोही दिन १० बजे हुन्छ। त्यसपछि दिनभर प्रचारप्रसारका लागि छुट्याइएको छ।

मतदान असोज २२ गते बिहान ७:३० देखि साँझ ५ बजेसम्म हुनेछ भने मतगणना र परिणाम मतदान सम्पन्न भएलगत्तै हुनेछ।

निर्वाचन समितिले मतदाताको सहजताका लागि प्रदेश र भ्रातृ संस्थाअनुसार तीनवटा छुट्टाछुट्टै मतदान केन्द्र तोकेको छ।

बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’मा मतदान गर्नेछन् भने खुलामञ्चमै रहेको  मतदान केन्द्र ‘ख’मा कोशी, मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेशका साथै भ्रातृ एवं शुभेच्छुक संस्था तथा नेपाली जनसम्पर्क समितिले मतदान गर्नेछन्।

गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिले नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको मतदान केन्द्र ‘ग’मा मतदान गर्नेछन्।

मतपत्रमा ‘ठीक’ चिन्ह लगाउनुपर्ने
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको नामावली नेपाली वर्णानुक्रम अनुसार प्रकाशन गरिनेछ र मतपत्रमा पनि सोही क्रम कायम रहनेछ।

मतदाताले आफूले रोजेको उम्मेदवारको नामअगाडि रहेको कोष्ठमा ‘ठीक’ चिन्ह लगाएर मत संकेत गर्नुपर्ने व्यवस्था गरिएको छ। यस्तै, उम्मेदवारी दर्ता गर्दा निर्देशिकामा तोकिए बमोजिमको दस्तुर बुझाउनुपर्नेछ।

मतदाता नामावली नेपाली कांग्रेसको आधिकारिक वेबसाइट तथा आधिकारिक फेसबुक पेजमार्फत पनि हेर्न सकिने समितिले जनाएको छ।

निर्वाचन कार्यक्रममा आवश्यकता अनुसार सामान्य परिमार्जन हुन सक्ने संयोजक प्रेमबहादुर खड्का, सदस्य सचिव राजु कटुवाल र सदस्य सुजन लोप्चनद्वारा जारी सूचनामा उल्लेख छ।

असोज १८, २०८३ आइतबार २१:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।