‘श्राद्ध’अघि घर पुग्ने योजना थियो, सिद्धबाबामै टुंगियो नवराजको यात्रा
बुटवल : बुधबार घरमा हजुरबुवाको श्राद्ध थियो। त्यसअघि नै गुल्मी पुगेर बुवा-आमालाई भेट्ने नवराज पन्तको योजना थियो।
गत वर्षसम्म रुपन्देहीको सैनामैना-२, सोरौलीमा बस्दै आएका बुवा-आमा पहाड फर्किएपछि उनीहरूलाई भेट्न नवराज आइतबार बुटवलबाट गुल्मीतर्फ लागेका थिए।
योजना स्पष्ट थियो- घर पुग्ने, बुवा-आमासँग केही समय बिताउने र उनीहरूलाई लिएर बुटवल फर्किने। तर, उनको त्यो योजना सडकमै अधुरो रह्यो।
आइतबार दिउँसो करिब साढे १ बजे बुटवलबाट गुल्मी जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै अनियन्त्रित भयो।
मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खोँचमा खस्यो। दुर्घटनामा गम्भीर घाइते भएका ४७ वर्षीय नवराजको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार घटनालगत्तै उद्धार गरी अस्पताल पुर्याइए पनि उनलाई बचाउन सकिएन।
घरबाट निस्किएका नवराज गन्तव्यमा पुगे/नपुगेको पत्तो उनकी श्रीमतीलाई थिएन। श्रीमान् कति बेला हिँडे र कहाँ पुगे भनेर उनी फोनमा सोधपुछ गरिरहेकी थिइन्।
केही समयपछि नवराजको मोबाइलमा फोन त उठ्यो, तर बोल्ने नवराज थिएनन्, प्रहरी थिए। प्रहरीले नवराज दुर्घटनामा परेको र गम्भीर घाइते भएको खबर सुनायो। त्यसको केही बेरमै उनको संसार उजाडियो।
नवराजका एक छोरा र एक छोरी छन्। उनी जगदम्बा सिमेन्टमा सिभिल इन्जिनियरका रूपमा कार्यरत थिए र सिमेन्टको क्वालिटी चेकको जिम्मेवारी सम्हाल्दै आएका थिए।
दुर्घटना घट्यो, तर हटेन जोखिम
सिद्धबाबा सडकखण्ड लामो समयदेखि पहिरो, खस्ने ढुंगा र अनपेक्षित दुर्घटनाका कारण ‘मृत्युमार्ग’ झैँ जोखिमपूर्ण बन्दै आएको छ।
यद्यपि, पछिल्ला वर्षहरूमा दुर्घटना केही न्यूनीकरण भएको प्रहरीको निष्कर्ष छ। चालकहरूमा जोखिमबारे सचेतना बढ्नु, ट्राफिक नियममा कडाइ गरिनु र भीषण वर्षाका बेला सवारी रोक्ने अभ्यासले दुर्घटनाको दर घटाउन मद्दत पुर्याएको प्रहरी बताउँछ। तर, जोखिम भने अझै टरिसकेको छैन।
पाल्पा जिल्ला ट्राफिक प्रहरीको तथ्यांकअनुसार पछिल्लो एक दशकमा सिद्धबाबा क्षेत्रमा पहिरो, ढुंगा खस्ने र सवारी दुर्घटनाका कारण ६८ जनाले ज्यान गुमाइसकेका छन् भने ५७ जना घाइते भएका छन्। विशेषगरी दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रसम्मको करिब चार किलोमिटर खण्ड अत्यन्तै संवेदनशील मानिन्छ।
वर्षामा सवारी रोकिएलान्, ढुंगा कहिले रोकिने?
सिद्धबाबाको जोखिमको मुख्य कारण सडकको अवस्था मात्र होइन, माथिल्लो भीरबाट एक्कासि खस्ने पहिरो र ढुंगा पनि हो। ठूलो वर्षा हुँदा बुटवल वा दोभानतर्फ नै सवारी रोक्ने गरिएको छ।
‘वर्षा रोकिएपछि पनि माथिबाट ढुंगा खसिरहने हुँदा यो सडकखण्ड सधैँ जोखिमपूर्ण नै रहन्छ’, जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी भीमलाल भट्टराई भन्छन्।
चालु आर्थिक वर्षको साउन-भदौ महिनामा मात्रै सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। सो क्रममा तीनवटा सवारीसाधनमा क्षति पुगेको थियो।
सुरुङ खनियो, तर बाहिरी जोखिम उस्तै
सिद्धबाबाको जोखिमपूर्ण खण्डलाई सुरक्षित बनाउन निर्माण भइरहेको सुरुङमार्गको मुख्य सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ।
आयोजनाका अनुसार १ हजार ८९ मिटर लम्बाइको मुख्य सुरुङको आवश्यक ‘सपोर्ट’ सहितको काम पूरा भएको छ। भदौ मसान्तसम्म आयोजनाको समग्र भौतिक प्रगति ६९.५७ प्रतिशत पुगेको छ।
सुरुङभित्रको मुख्य काम सकिए पनि पहुँच सडक, सडक जोड्ने संरचना, विद्युतीकरण र सुरक्षा प्रबन्धका काम अझै बाँकी छन्।

निर्माणाधीन सुरुङमार्ग माथिल्लो सिद्धबाबादेखि हेडबक्ससम्म फैलिएको छ। तर, तल्लो सिद्धबाबादेखि उपल्लो सिद्धबाबासम्मको करिब एक किलोमिटर खुला सडक खण्डमा भने जोखिम अझै कायमै छ। जहाँ नवराज दुर्घटनामा परे, त्यो क्षेत्र सुरुङमार्गभन्दा बाहिर पर्छ।
माथिबाट ढुंगा र पहिरो खस्ने जोखिमयुक्त यस क्षेत्रमा ‘रकसेड’ (ढुंगा छेक्ने संरचना) लगायतका प्रविधि अपनाएर सुरक्षित बनाउने आयोजनाको योजना छ।
सुरुङ सञ्चालनमा आएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा रकसेड र भीर संरक्षणको काम अघि बढाइने सिद्धबाबा सुरुङमार्ग आयोजनाका प्रमुख नवराज बास्तोलाले बताए।
आयोजना प्रमुख बास्तोला भन्छन्, ‘सुरुङबाट सवारी सञ्चालन भएपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा रकसेड र भीर संरक्षणको काम अघि बढाउँछौँ। यसले पहिरो तथा ढुंगा खस्ने जोखिमबाट सवारी र यात्रुलाई सुरक्षित बनाउन मद्दत गर्छ। यो क्षेत्र तल्लो सिद्धबाबादेखि हेडबक्ससम्म पर्छ।’
असोज १८, २०८३ आइतबार १९:४२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।