प्रचण्डले गरे गगन र रविलाई 'क्रमभङ्ग' जारी राख्न आग्रह, थापाको नेतृत्वप्रति पूर्ण समर्थन
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिमा निरन्तरताको क्रमभङ्गता जोगाउन आग्रह गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले विगतमा आफूले निरन्तर रूपमा क्रमभङ्गता गर्दै आएको स्मरण गराए। तर, अब उमेर र परिस्थितिका कारण आफूलाई क्रमभङ्ग गर्न कठिन हुने भन्दै उनले त्यो जिम्मेवारी अब युवा नेताहरू गगन थापा र रवि लामिछानेको काँधमा आएको बताए।
गगन थापालाई बधाई दिँदै प्रचण्डले भने, “मैले सधैँ भन्ने गर्थें, निरन्तरतामा क्रमभङ्ग गर्न सक्नुपर्छ। तपाईंले त्यही क्रमभङ्ग गरेर कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्याउनुभएको छ", उनले थपे, "अब मलाई सायद क्रमभंग गर्न अलि गाह्रो गाह्रो भएको हो कि। अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस्। अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ। तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल।"
प्रचण्डले देश अहिले असाधारण, जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए। प्राकृतिक विपद्का कारण हजारौँको ज्यान गएको, ठूलो मात्रामा सम्पत्ति नष्ट भएको र हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेसको महाधिवेशन हुन लागेको बताए।
उनले गगन थापालाई आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रीका रूपमा काम गर्दादेखि नै देशको नेतृत्व गर्नसक्ने व्यक्तिका रूपमा हेरेको स्मरण गरे । थापाले अहिले देशको नेतृत्व गर्ने आँट गरेको भन्दै आफूहरू उनको साथमा रहेको बताए।
"तपाईंले अन्ततः एकदिन यो देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ भन्नेको थिएँ, आज आएको देख्छु। निकै ठूलो जिम्मेवारी छ। तपाईं अगाडि बढ्नुस् । हामी तपाईंलाई सम्पूर्ण रूपले साथ दिन तयार छौँ," प्रचण्डले भने।
प्रचण्डले कांग्रेसभित्र नयाँ पुस्ता र पुरानो पुस्ताबीच विभाजनको भावना विकास गर्न नहुने बताए । समाज वृद्ध, प्रौढ र युवाहरू मिलेर अघि बढ्ने भएकाले सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले देशमा लोकतन्त्र र संविधानसमेत अप्ठ्यारो अवस्थामा रहेको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताए।
"यस्तो बेलामा संविधानलाई अझ सुदृढ गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरुरी छ," उनले भने।
शान्ति सम्झौताका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले त्यसको जिम्मेवारी कांग्रेस सभापति गगन थापाले लिनुपर्ने बताए। समावेशी लोकतन्त्रका उपलब्धिलाई थप सुदृढ गर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने उनको भनाइ थियो।
प्रचण्डले आगामी दिनमा कांग्रेस, वामपन्थी तथा अन्य राजनीतिक शक्तिहरूबीच समझदारी आवश्यक रहेको बताए। समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो।
प्रचण्डले कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेपाल निर्माणमा कोसेढुंगा बन्न सक्ने विश्वास व्यक्त गर्दै महाधिवेशनको सफलताको शुभकामना दिए।
असोज १८, २०८३ आइतबार १८:०४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।