राजनीतिमा सत्ता होइन, कामको प्रतिस्पर्धा आवश्यक: महासचिव राई

राजनीतिमा सत्ता होइन, कामको प्रतिस्पर्धा आवश्यक: महासचिव राई

काठमाडौं : नेपालको राजनीतिमा पछिल्लो समय सत्ता केन्द्रीत प्रतिस्पर्धा हाबी हुँदै गएको भन्दै श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि राजनीतिक दलहरूबिच स्वस्थ र रचनात्मक प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए।

"यो महाधिवेशनबाट एउटा अनुरोध गर्न चाहन्छु, अब हामीले कुन पार्टीले कति समय सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि देशका लागि राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ,"राईले भने।

आफ्ना पार्टी अध्यक्षको भनाइ उद्धृत गर्दै उनले अबका दिनमा राजनीतिक दलहरू बिच कामको प्रतिस्पर्धा हुनुपर्ने धारणा राखे।

देशको समृद्धिका लागि नयाँ पुस्तालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले भने, “राजनीतिमा अब नयाँ पुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ। पुराना नेताहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई एकसाथ समेटेर अघि बढेमा मात्र देशले विकासको गति लिन सक्छ।”

आफू कांग्रेसको प्रतिस्पर्धीका रूपमा नभई मुलुकको लोकतान्त्रिक इतिहासको साक्षी बन्न उपस्थित भएको उल्लेख गर्दै महासचिव राईले नेपालमा लोकतान्त्रिक गणतन्त्रको स्थापना र संस्थागत विकासमा नेपाली कांग्रेसको योगदान अतुलनीय रहेको बताए। साथै, उनले महाधिवेशनले समृद्ध राष्ट्र निर्माणका लागि नयाँ ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना समेत व्यक्त गरे।

असोज १८, २०८३ आइतबार १६:१९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।