रसुवाका १६ बाढी प्रभावित बालबालिका कसरी पुगे ठेचो ?

रसुवाका १६ बाढी प्रभावित बालबालिका कसरी पुगे ठेचो ?

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित रसुवाका १६ जना बालबालिकालाई असोज १२ गते काठमाडौंको सुन्दरीजल हुँदै ललितपुरको ठेचोस्थित अस्थायी संरक्षण केन्द्रमा पुर्याइयो। ‘सरकारले पढाउन लगेको’ भनेर ८ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई गाउँकै सामुदायिक विद्यालयका प्रधानाध्यापकको अगुवाइमा ल्याइएको थियो। 

तर, बालबालिकाको यस स्थानान्तरण र अवस्थाबारे नियमनकारी सरकारी निकायहरू नै बेखबर देखिएका छन्। राष्ट्रिय बाल परिषद् र संरक्षण केन्द्रसँग रसुवाका बाढी पीडित बालबालिका सुन्दरीजलबाट आएको भन्ने बाहेक थप जानकारी छैन। बालबालिकाको पढाई, बसाइ, उनीहरूको स्वास्थ्यबारे बुझ्न अहिलेसम्म सरकारी निकाय सम्बन्धित ठाउँमा पुगेको देखिँदैन।

गोदावरी नगरपालिका-१२ ठेचोस्थित केन्द्रमा आश्रय लिइरहेका बालबालिकामध्ये १० बालिका र ६ बालक छन्। तीमध्ये आमाछोदिङमो गाउँपालिका- १ हाकुबेंशीका ११ वर्षीय बालक र उनकी ८ वर्षीया बहिनी बाढीबाट अभिभावकविहीन बने। उनका बाबुको पहिले नै मृत्यु भइसकेको र सुरुङ (टनेल) मा मजदुरी गरेर हुर्काइरहेकी आमा बाढीमा बेपत्ता भइन्। बाँकी १४ जनाका भने अभिभावक छन्।

काठमाडौंका तीन वटा गुम्बा गोसोक (पहेलो) गुम्बा, मुस्ताङ गुम्बा र नुब्री समाजमा रहेका होल्डिङ सेन्टरमा बाढी प्रभावित व्यक्तिहरू बसिरहेका छन्। अहिले पनि यी गुम्बाहरूमा लगभग रसुवाका आठ सय बाढी प्रभावित आश्रय लिइरहेका छन्। यस्तो अवस्थामा बालबालिकाको सुरक्षा अझ चुनौतीपूर्ण बनेको छ।

तर संरक्षण केन्द्रमा पुर्याइएका बालबालिका मध्ये कुनै पनि गुम्बाबाट ल्याइएको होइन। त्यसो भए यी १६ बालबालिका कसरी सुन्दरीजल हुँदै अस्थायी संरक्षण केन्द्रमा आइपुगे ? अब यहाँबाट उनीहरू कहाँ जान्छन् ? भन्ने विषयमा हालसम्म सरकारी निकाय बेखबर छन्।

के भन्छन् सरकारी निकाय ?
बालबालिकाको विषयमा उकेराले जिज्ञासा राख्दा केन्द्र प्रमुख आशिष आचार्यका अनुसार बालबालिकाको संवेदनशीलता र केन्द्रका बाल मनोचिकित्सकको सल्लाहअनुसार नै तत्कालै उनीहरूसँग धेरै सोधपुछछ नगरिएको बताए। एकै पटक धेरै प्रश्न गर्दा बालबालिकामा थप मानसिक तनाव पर्न सक्ने जोखिमलाई ध्यानमा राखेर आधारभूत विषय मात्र सोधिएको उनको भनाइ छ। 

“हामीले बालबालिकाको संवेदनशीलतालाई ध्यानमा राखेर बेसिक कुरा बाहेक केही पनि अहिलेसम्म सोधेका छैनौं। हाम्रो केन्द्रमा हुनुभएका बाल मनोचिकित्सककै सल्लाह पनि एकै पटक सबै प्रश्न सोध्दा झन् बढी उनीहरूलाई तनाव हुने हो कि भन्ने भयो,” आचार्य भन्छन्, “उहाँहरू सबै एकै गाउँका, एकै स्कुलमा पढ्ने र सुन्दरीजलबाट आउनु भएको भनेर अहिलेसम्म हामीले जानकारी लिएका छौं।”

उनीहरूलाई केन्द्रसम्म पुर्याउन कसैको पनि अभिभावक साथमा नआएको उनले बताए। बालबालिकासँग अहिले उनीहरूलाई पठाउँदै आएका दुई शिक्षक समेत रहेको उनले जानकारी दिए। उनीहरूसँग पनि धेरै कुरा भइनसकेको आचार्य बताउँछन्। केन्द्रमा दुई शिक्षकसँग पढ्ने, खेल्ने र बाल मनोचिकित्सकसँग कुरा गरेर केन्द्रमा उनीहरूले दिन बिताइरहेका छन्।

सरकारी अभिलेखमा काठमाडौंका तीन वटा गुम्बाबाहेक अन्य होल्डिङ सेन्टर रहेको विवरण छैन। तीन वटै गुम्बा पनि सामुदायिक स्तरबाट सञ्चालन भइरहेको देखिन्छ। एउटा गाउँ नै सुन्दरीजलमा आश्रय लिइरहेको जानकारी हुँदा समेत सरकारले चासो देखाएको देखिँदैन।

बालबालिका सरकारी संरक्षण केन्द्रसम्म आइपुग्दा समेत राष्ट्रिय बाल अधिकार परिषद्ले सुन्दरीजल पुगेर त्यसबारे जानकारी लगेको छैन। विस्थापित बालबालिका त्यहाँ कुन अवस्थामा बसिरहेका छन् र अरू बालबालिकाको अवस्था कस्तो छ भनेर परिषद्ले सोधखोज गरेको वा चासो देखाएको छैन। 

बाल परिषद्का सूचना अधिकारी रामबहादुर चन्दलाई यसबारे उकेराले प्रश्न सोध्दा उनले भने, “सुन्दरीजलबाट आएको रे। अब अरू पनि आउने कुरा छ। अब केन्द्रमा उनीहरू बस्ने भएको कारणले केन्द्रमै थप बुझ्नुस्।”

सुन्दरीजल गोकर्णेश्वर नगरपालिका अन्तर्गत पर्ने भएर त्यहाँका स्थानीय सरकारसँग पनि उकेराले उनीहरूको अवस्थाबारे बुझ्ने प्रयास गरेको थियो। गोकर्णेश्वर नगर प्रमुख दीपककुमार रिसालले समेत यसबारेमा कुनै पनि जानकारी नभएको बताए। “हाम्रो नगरपालिकाबाट यति धेरै बालबालिका त्यहाँ पुगेको भए मलाई त जानकारी आउनु पर्ने। तर अहिले सम्म हाम्रो नगरपालिकालाई यसबारे केही पनि जानकारी छैन,” उनले भने।

कुराकानीको क्रममा केही व्यक्तिले बाढी पीडितका लागि भनेर खाली जग्गा उपलब्ध गराउन नगरपालिकासँग माग गरेको उनले खुलाए। तर नगरपालिकासँग खाली जग्गा नरहेको कारण तत्काल ठाउँ उपलब्ध गराउन नसकिने  रिसालको भनाइ थियो। “सायद उनीहरूले नै धेरै समय राख्न नसकेर त्यहाँ लगे कि!,” उनले भने।

कानुनी प्रक्रियाबिना बालबालिका स्थानान्तरण!
परिषद्ले गत भदौ १४ गते नै सूचना जारी गरी बाढी प्रभावित बालबालिकालाई परिवारकै अन्य सदस्यबाट संरक्षणको व्यवस्था मिलाउन स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको थियो। बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ४८ को उपदफा (१) खण्ड (ट) बमोजिम परिवारबाट व्यवस्थापन हुन नसक्ने अवस्थामा मात्र स्थानीय बाल अधिकार समितिको निर्णय, बाल कल्याण अधिकारीको सिफारिस र परिषद्को पूर्वस्वीकृति लिएर अस्थायी संरक्षणमा राख्न सकिने कानुनी प्रावधान छ।

तर, ती बालबालिका रसुवाबाट काठमाडौंको सुन्दरीजल पुग्दा र त्यहाँबाट स्थानान्तरण गरिँदासम्म कुनै पनि बाल कल्याण अधिकारीको सिफारिस वा कानुनी प्रक्रिया पूरा भएको छैन। हाल उनीहरू ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थित अस्थायी संरक्षण केन्द्रमा छन्।

“उहाँहरू सबै सुन्दरीजलमा हुनुहुन्छ। व्यक्तिगत घरमा। त्यहाँ राख्न नमिल्ने भएको कारणले यहाँ आउनु भएको। बोलीचाली रहनसहन एकै भएर गाउँ नै आउनुभएको रहेछ। अहिले हेर्न गाह्रो भएको कारण यहाँ ल्याएको देखिन्छ,” उनले भने।

यसले अभिभावकसँगै रहेका बालबालिका कुन अवस्थामा कहाँ पुगिरहेका छन् भन्नेबारे परिषद्को ध्यान नपुगेको प्रस्ट्याउँछ। यसअघि पनि काठमाडौंका गुम्बाहरूबाट बालबालिका हराउने र पछि खोजतलास गरेर गुपचुप परिवारकै जिम्मा लगाइएको खुलेको थियो।

रसुवा र नुवाकोटमा मात्र नभई काठमाडौंका गुम्बाहरूमा समेत ‘बालबालिकाको जिम्मा लिन्छौं’ भनेर अपरिचित व्यक्तिहरू आउने क्रम बढेको सूचना उकेराले प्राप्त गरेको छ। त्यस कारण अहिले गुम्बामा अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाइएको देखिन्छ।

कसरी काठमाडौं आइपुगे बालबालिका ?
भोटेकोशीको बाढीले रसुवाको आमाछोदिङमो गाउँपालिका- १ हाकुबेंशीस्थित श्री हाकुबेंशी आधारभूत विद्यालय नै विस्थापित गरिदियो। ७४ जना विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालय र बस्ती क्षेत्रलाई सरकारले ‘रेड जोन’मा राखेको छ। बाढीपछि डाँडामा बचेका घर र खेतहरू चिरा पर्न थालेपछि गाउँ नै खाली हुँदै गएको हो।

“अहिले हाम्रो गाउँमा बालबालिका मात्र होइन अभिभावक पनि कोही हुनुहुन्न। हाम्रो त गाउँ नै नरहने अवस्थामा पुगेको छ,” गाउँपालिका अध्यक्ष बुचुङ तामाङ भन्छन्, “विस्थापित अधिकांश बालबालिका आफन्तसँगै काठमाडौँका विभिन्न स्थानमा पुगेका छन् भन्ने खबर प्राप्त गरिराखेका छौं।”

तामाङका अनुसार लोलाङ, चिसापानी, कीर्तिपुर, गोलढुंगा, मातातिर्थलगायतका ठाउँहरूमा समेत बाढीपीडितहरू टहरा बनाएर बस्न थालेका छन्।

बाढीपछि विद्यालयका सबै विद्यार्थी काठमाडौं आएका हुन् वा होइनन् भनी खोजी गर्नेक्रममा सुन्दरीजलमा आमाछोदिङमो गाउँपालिका-१ हाकुबेंशीका विस्थापित बासिन्दाहरू भेटिए। श्री हाकुबेंशी आधारभूत विद्यालयका प्रधानाध्यापक कार्बो तामाङकै संयोजनमा उनीहरू सुन्दरीजल आइपुगेको खुल्यो। बस्ती नै जोखिममा रहेकाले बाँकी गाउँलेहरू पनि काठमाडौं आउने क्रम जारी रहेको देखियो। 

यहाँ हाकुबेंशी ५६ घरमा करिब दुई सय बाढी प्रभावित स्थानीय छन्। सुन्दरीजलकै स्थानीय लामाले आफ्नो घरमा उनीहरूलाई बस्न दिएको खुल्यो। एकै कोठामा १५ जनासम्म विस्थापित बसिरहेका छन्।

संख्या बढ्दै गएको र ठाउँ कम भएको कारण प्रधानाध्यापक तामाङले शिक्षकसहित केही बालबालिकालाई अस्थायी संरक्षणमा पुर्याएका रहेछन्। बाल मन परामर्श पनि मिल्ने र सरकारकै नजरमा समेत रहने भएर बालबालिकालाई केही समयको लागि ठेचोमा राखिएको प्रधानाध्यापक तामाङले उकेरालाई बताए। सुन्दरीजलमा जम्मा ६८ जना बालबालिका छन्। 

यसअघि केही समय नुब्री समाजमा बसोबास गरिरहेका उनीहरूपछि सुन्दरीजल पुगेका रहेछन्। “हामी सबै गाउँ नै आएका छौं। हाम्रो अब गाउँमा केही पनि बाँकी रहेन। त्यही भएर बाँचेका जति सबै एकजुट भएर हामी काठमाडौं आइपुग्यौं। स्कुलको व्यवस्थापन भयो भने हामी फेरिसँगै हुन्छौं। अभिभावक सबैले काम गर्न सक्नुहुन्छ। सरकारले पक्कै हामीलाई त्यत्तिकै अलपत्र नछोड्लान्। हाम्रो बालबालिकाको भविष्य सरकारले बिग्रन नदिने आशा छ ,” उनले भने। 

अब के हुन्छ?
उक्त बालबालिकाको अभिभावकसँग भेटेर कुरा गर्दा अधिकांशले ‘सरकारले पढाउन लगेको’ भनेर जवाफ दिए। बालबालिका ठ्याक्कै कहाँ छन् ? कसरी पढिरहेका छन् ? कति समय बस्छन् ? भन्नेबारे उनीहरू बेखबर देखिए। यद्यपि उनीहरू आफ्ना सन्तान पढ्नको लागि गएको भनेर ढुक्क जस्तो देखिए।

तर ठेचोमा बालबालिकासँगै गएका शिक्षकले नै पढाउने हुन्, कुनै विद्यालयमा पढिरहेका होइनन् भन्ने अभिभावकलाई थाहा छैन। “यो वर्षसम्म सरकारले त्यति पढाउने रे। अनि पछि राम्रो विद्यालयमा पढाउने भनेर गएको छ,” एक अभिभावकले भने। बालबालिकालाई पुर्याउन समेत नगएका अभिभावक ‘सरकारले हेर्ने’ आशामा छन्।

अस्थायी संरक्षण भएको कारणले अनाथ भएका बालबालिकालाई राखिने र यहीबाट अन्य सङ्घसंस्थामा समेत यहाँबाट सरकारी रोहवरमा बालबालिकालाई पठाउने कार्य पनि यस केन्द्रको काम हो। तर अहिले तत्काल ती बालबालिकालाई अन्य सङ्घसंस्थामा नपठाउने केन्द्र अध्यक्ष आचार्यको दाबी छ। 

“स्कुल नै आउनु भएको कारणले उहाँहरूले शिक्षा मन्त्रालयसँग पनि कुरा गरिराख्नु भएको बुझेको छ। प्राय सबैको अभिभावक भएको कारणले स्कुल नै सञ्चालन हुनेसम्म अवस्था आयो भने उहाँहरू पहिलाकै अवस्थामा फर्कनुहुन्छ। अहिले केही समय हामीसँग बस्ने मात्र हो,” उनले भने। 
 
बिहीबार मात्र गाउँले सब मिलेर अहिले गोकर्णेश्वर नगरपालिका र सुन्दरीजलकै वडामा पनि जानकारी गराइसकेका छन्। गोकर्णेश्वरको मेयर रिसालले आफ्नै नगरपालिकामा रहेका उत्कृष्ट सामुदायिक विद्यालयमा बालबालिका पढाउन पहल गर्ने बताए। गोकर्णेश्वरले कोष नै बनाएर यस अघि रसुवा र नुवाकोट बाढी प्रभावितलाई सहयोग गरेको थियो। 

“अहिले अब हाम्रै ठाउँमा आइपुग्नु भएछ। हामीलाई पनि हिजो मात्र जानकारी आयो। अवस्था हेरेर हामी सक्दो सहयोग गर्नेछौं,” मेयर रिसालले भने। 

असोज १८, २०८३ आइतबार १४:१२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।