घरमै सुतिरहेकी बालिका अपहरणका आरोपितलाई गोली हानेर जंगलबाट पक्राउ
बुटवल : प्रहरीले १० वर्षीया बालिकाको अपहरणमा संलग्न रहेको आरोपमा एक युवकलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। तिलोत्तमा नगरपालिका-१७ दरखसवाका २७ वर्षीय युवराज थारु भनिने विशाललाई प्रहरीले आइतबार राति जंगल क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार थारुले गत बुधबार राति तिलोत्तमाकै एक १० वर्षीया बालिकालाई घरमै सुतिरहेको अवस्थामा अपहरण गरेका थिए। परिवारले राति करिब २ बजे बालिका ओछ्यानमा नभएको थाहा पाएपछि तत्काल प्रहरीलाई खबर गरेको थियो।
बालिकाको खोजीमा प्रहरीले बिहानदेखि गाउँ आसपास तथा जंगल क्षेत्रमा खोजी अभियान चलाएको थियो। करिब ३८ घण्टापछि शुक्रबार साँझ ७ बजेतिर कान्छी बजारनजिकको जंगलबाट बालिकालाई सकुशल उद्धार गरिएको थियो।
बालिका फेला परे पनि अपहरणमा संलग्न व्यक्ति भने फरार थिए। उद्धार स्थलमा भेटिएको मोबाइल फोनलगायतका आधारमा प्रहरीले थारुको पहिचान गरी उनको खोजीलाई तीव्र बनाएको जनाएको छ।
जंगलमै लुकेर बसेको आशंकामा खोजी गरिरहेको प्रहरी टोलीले आइतबार राति करिब १ बजे थारुलाई फेला पारेको थियो। पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिन एक राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ।
गोली लागेर थारुको खुट्टामा चोट लागेको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, अपहरणबाट उद्धार भएकी बालिका सुरक्षित रहेको र प्रहरीको संरक्षणमा रहेको बुटवल प्रहरीले जनाएको छ।
असोज १८, २०८३ आइतबार १०:२१:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।