पेस्तोल खेलाउने क्रममा पड्किएर रुपन्देहीमा एक युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा
काठमाडौं : रुपन्देहीको देवदह नगरपालिका-५ मितेरी गाउँस्थित एक घरमा माउजर पेस्तोल खेलाउने क्रममा पड्किँदा एक युवक घाइते भएका छन्।
स्थानीय दुर्गा प्रसाद खरेलले पेस्तोल खेलाउने क्रममा अचानक पड्किएर २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका हुन्। खत्रीको दाहिने गालामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते खत्रीको हाल देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनायो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न खरेलसहित कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनास्थलबाट म्यागजिनसहितको माउजर पेस्तोल बरामद गरेको छ। उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १८, २०८३ आइतबार ०८:००:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।