साइलेन्सर पड्काउँदै मोटरसाइकल चलाउनेविरुद्ध प्रहरीको कारबाही
गण्डकी : स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउने विरुद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि सुरु गरेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म यस्ता ८ ८२ वटा मोटरसाइकल कारबाहीमा परेका छन्।
यस अवधिमा ३६ जना मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार मात्र स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने ११ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा ‘अपरेसन ३६५’ सञ्चालन गर्दै आएको उनको भनाइ छ। समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरिएको उनले बताए।
कतिपय मोटरसाइकल चालकलाई सम्झाई बुझाइ परिवारको जिम्मा लगाउने गरिएको छ। मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास सिर्जना गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याइएको हो।
मोटरसाइकलका पार्टपुजा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खलबल्याउनेजस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अपरेसन ३६५’ सञ्चालन गरेको हो।
प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने अनुरोध गरेको छ। सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाइएको छ।
स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ। कास्की प्रहरीले गत वर्ष पनि अभियानकै रूपमा यस प्रकृतिका मोटरसाइकल नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको थियो।
असोज १७, २०८३ शनिबार २२:३५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।